चितवन। कालिका नगरपालिका वडा नं। ३ का अध्यक्ष टीकाराज रिजालमाथि आज सोमबार कार्यालयमै आक्रमण भएको छ । पाँच जनाको समूहमा आएका व्यक्तिहरुले एक्कासी उहाँमाथि आक्रमण गरेका हुन् ।
वडा अध्यक्ष रिजालका अनुसार कार्यकक्षमा काम गरिरहेको समयमा एक्कासी पछाडिबाट आक्रमण भएको हो । उहाँले भन्नुभयो “म सेवाग्राहीको काममा व्यस्त थिएँ, माक्स लगाएर आएका अपरिचित व्यक्तिहरुले पछाडिबाट आक्रमण भयो ।” आक्रमणकारीले कार्यकाक्षबाट बाहिर निस्कालेपछि भित्र भाग्न सफल हुनु भएका वडा अध्यक्ष रिजालले प्रहरीलाई फोन गरे लगत्तै उनीहरु भागेको बताउनुभयो ।
विगतमा भएका यस्तै प्रकृतिका आपराधिक घटनाका दोषीलाई कारवाही नहुँदा घटना दोहोरिएको उहाँको भनाई छ । कुनै वादविवाद बिना नै घटना भएको रिजालले बताउनुभयो । उहाँले भन्नुभयो “मेरो कसैसँग झैझगडा वा विवाद भएको छैन, एक्कासी आपराधिक तरिकाले आक्रमण भयो ।”
यसैबीच नेकपा एमाले चितवनले आज एक विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको भत्र्सना गरेको छ । पार्टी अध्यक्ष रामप्रसाद न्यौपानेद्वारा जारी विज्ञप्तिमा भनिएको छ “कालिका नगरपालिका वार्ड नंं ३ का जननिर्वाचित वडा अध्यक्ष एवम् नेपाल कम्युनिस्ट पार्टी एमाले जिल्ला कमिटीका सदस्य टीकाराज रिजालमाथि उहाँको कार्यकक्षमै अज्ञात समूहद्वारा दूरव्यवहार गरी मोसो दल्ने प्रयास भएको घटनाप्रति नेकपा एमाले जिल्ला कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त अपराधिक कार्यको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ ।”



उज्यालो खबर




