×

सुस्मा न्यौपाने

गैँडाकोट । कार्यसम्पादनमा आधारित अनुदान सिफारिस प्रयोजनका लागि गरिएको मूल्याकंनका क्रममा नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिका जिल्ला प्रथम हुन सफल भएको छ । राष्टिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको स्थानीय तहहरुको मूल्याकंनका क्रममा गैँडाकोट नगरपालिका अन्य पालिका भन्दा अब्बल देखिएको हो ।

जिल्लाका आठ स्थानीय तहहरुमध्ये अन्यलाई पछि पार्दै गैँडाकोट नगरपालिका जिल्ला प्रथम हुन सफल भएको छ । गैँडाकोट नगरपालिकाले ६७.३३ अंक प्राप्त गरेको छ । गैँडाकोट नगरपालिकापछि मूल्याकंनका क्रममा क्रमश देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, बौदीकाली गाउँपालिका , हुप्सेकोट गाउँपालिका, विनयीत्रिवेणी गाउपालिका, बुलिगंटार गाउपालिका र कावासोती नगरपालिका रहेका छन् ।
जिल्लामा दोस्रो स्थानमा देखिएको देवचुली नगरपालिकाले ६४.२१ अंक प्राप्त गरेको छ भने तेस्रो स्थानमा रहेको मध्यविन्दु नगरपालिकाले ६३.७० अंक प्राप्त गरेको छ ।

चौथो स्थानमा चित्त बुझाएको बौदीकाली गाउँपालिकाको प्राप्ताकं ६०.९२ रहेको छ भने हुुप्सेकोट गाउँपालिका, विनयीत्रिवेणी गाउपालिका, बुलिङ्गटार  गाउँउपालिका र कावासोती नगरपालिकाले क्रमश ५३.०४, ४८.४१ र ४८.१० अंक प्राप्त गरेका छन् ।

स्थानीय तहहरुका लागि तयार गरिएको विभिन्न १७ वटा सूचकलाई आधार मानेर गरिएको मूल्यांकनको नतिजा सार्वजनिक गरिएको राष्टिय प्राकृतिक स्रोत तथा वित्त अयोगले जनाएको छ ।सबै स्थानीय तहहरुलाई पत्राचार गर्दै आयोगले प्राप्त भएको अंक र तथ्याकंमा परिमार्जन हुनुपर्ने ठोस प्रमाण भएमा फागुन २५ गतेभित्र पूनरावलोकनका लागि निवेदन दिन भनेको छ ।

यसैविच गैँडाकोट नगरपालिकाले स्थानीय तहहरुको मूल्याकंनका क्रममा नवलपुरमै प्रथम हुन सफल हुनु खुसीको कुरा भएको बताएको छ । नगरप्रमुख छत्रराज पौडेलले कर्मचारी तथा जनप्रतिनिधीहरुको संयुक्त प्रयासबाट नतिजा आएको भन्दै आगामी दिनमा समेत यसलाई कायम राख्न आफुहरुले निरन्तर प्रयास गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया