×

पोखरा । बागलुङ बसपार्क निर्माणमा अनियमितता गरेको भन्दै बागलुङ नगरपालिका उपप्रमुख सुरेन्द्र खड्का निलम्बनमा परेका छन् । बसपार्क निर्माणमा फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका हुन् ।

अनुगमन समिति प्रमुखसमेत रहेका उप-प्रमुख खड्का, बागलुङ नगरपालिका- ४ का अध्यक्ष ध्रुवबहादुर केसी, इञ्जिनियर मनोज शर्मा, सव- इञ्जिनियर घनश्याम रिजाल, बागलुङ बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माबिरुद्ध मुद्धा दायर भएको हो । तत्कालीन डिभिजन इन्जिनियर दयाराम पौडेललाई पनि नापी किताबमा सही गरी गलत प्रतिवेदन सिफारि गरेको भन्दै मुद्दा दायर गरिएको छ ।

फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको अख्तियारको आरोप छ । उनीहरुलाई अख्तियारले ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान ऐन तथा भ्रष्टाचार निवारण ऐनअनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बन हुने व्यवस्था छ ।

फिल्डमा नभएको कामको लागत अनुमानभन्दा नापी किताबमा अस्वभाविक रुपमा परिवर्तन गरेको अख्तियारको आरोप छ । उनीहरुलाई अख्तियारले ५ लाख ९० हजार बिगो कायम गरी जरिवाना र कैद सजाय माग दाबी गर्दै मुद्दा दायर गरेको छ ।

त्यसैअनुसार बागलुङ नगरका उपप्रमुखको नेमप्लेट हटाइएको छ भने गाडी पनि नगरपालिकाले फिर्ता लिएको छ । भ्रष्टाचार मुद्दा दायर भएसँगै वडाध्यक्ष र प्रविधिकले चढ्ने सवारी साधन पनि फिर्ता मागिएको मेयर जनकराज पौडेलले जानकारी दिए । उपमेयरको संयोजकत्वमा हुने न्यायिक तथा अनुगमन लगायतका काममा अर्को व्यक्तिलाई जिम्मेवारी तोक्ने तयारी भइरहेको मेयर पौडेलले बताए ।

केही महिना अगाडि नै बागलुङ बसपार्क निर्माण सकिइसकेको छ तर बसपार्क निर्माणसँग सम्बन्धित जग्गा ब्यवस्थापन र सडक निर्माण नहुँदा सञ्चालनमा आउन सकेको छैन । स्थानीयलाई उपलब्ध गराउने जग्गा व्यवस्थापन र सडकका कारण बसपार्क निर्माण सकिए पनि अलपत्र परेको छ ।

नगर विकास कोषको ऋण अनुदानमा बसपार्क निर्माण सकिए पनि स्थानीयको जग्गा व्यवस्थापन र अर्को वैकल्पिक सडक निर्माणको काम भइरहेको मेयर पौडेलले जानकारी दिए । ७५ लाख रुपैयाँको लागतमा वैकल्पिक सडक निर्माण भइरहेको पौडेलको भनाइ थियो ।

‘बसपार्क निर्माण सकिए पनि सडक र स्थानीयको जग्गा व्यवस्थापनको काम पूरा नहुँदा सञ्चालनमा ल्याउन नसकेका हौं । सडकको ठेक्का लागेर काम भइरहेको छ, स्थानीयलाई घडेरी प्लानिङ गरेर दिन काम पनि अगाडि बढिरहेको छ,’ मेयर पौडेलले भने ।

 

तपाईको प्रतिक्रिया