
चितवन –एमसिसि पास भएपछि नेकपा समाजवादीका कार्यकर्ताले चितवनको पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।कार्यकर्ताका भावना विपरित गएर पार्टी नेतृत्वले एमसिसिको पक्षमा हस्ताक्षर गरेको भन्दै चितवनमा कार्यकर्ताले विरोध जनाएका हुन् ।
एमसिसिको पक्षमा गरिएको हस्ताक्षर फिर्ता गर्न, एमसिसिको विरोधमा लागेर एमसिसि खारेज गर्न, आगामि दिनहरुमा जनता तथा कार्यकर्ताको भावना बुझेर अघि बढ्न माग गर्दै उनीहरुले तालाबन्दी गरेका हुन् । माग पूरा नभएसम्म तालाबन्दी नखुल्ने उल्लेख गर्दै पार्टी कार्यालयमा एक विज्ञप्ति टाँसेर तालाबन्दी गरिएको हो ।
समाजवादी निकट विद्यार्थी संगठनका जिल्ला नेता प्रकाश अर्यालले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा भनिएको छ, ‘यदि यो ताला फोरिएमा पार्टीले ठूलो क्षति व्यहोर्नुपर्ने छ ।’माधव कुमार नेपाल नेतृत्वको नेकपा समाजवादीले हिजो आइतबार एमसिसि सम्झौतालाई व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो । एमसिसि हिजो साँझ प्रतिनिधि सभाको ध्वनी मतको बहुमतबाट पारित भइसकेको छ ।