चितवन–चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा नेकपा एमाले निकटका विद्यार्थीको आक्रमणबाट नेकपा माओवादी केन्द्र निकटका विद्यार्थी घाइते भएका छन् ।

आज विहान प्याथोलोजी ल्याबमा अध्ययन गरेर फर्किदै गर्दा कृषि शंकायको तेस्रो सेमेस्टमा अध्ययनरत विद्यार्थी आशिष सुवेदीमाथि आक्रमण भएको थियो । उनको टाउकोमा चोट लागेको र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । घाइतेको अवस्था मध्यम रहेको छ ।

केही महिना पहिले माओवादी निकट विद्यार्थीको आक्रमणबाट एमाले निकट विद्यार्थी घाइते भएका थिए । त्यसैको बदलामा आक्रमण भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटना बारे सिसिटिभी फुटेजको आधारमा अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिए । घटना पश्चात विश्वविद्यालय परिसरमा नेपाल प्रहरी र शसस्त्र प्रहरी परिचालन गरिएको छ । विद्यालय बस्ने छात्रावास प्रहरीको निगरानीमा रहेको छ ।

यसैबीच घटना पश्चात विद्यालयले थप हिंसात्मक गतिविधि नहोस् भन्नका लागि भौतिक पठन पाठन स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले भोलिदेखि यस महिनाभरमा अनलाइन कक्षा मात्रै संचालन गर्ने निर्णय गरिएको विश्वविद्यालयका डिन जयप्रकाश दत्तले जानकारी दिए ।‘विद्यार्थीको भिड नहोस् भन्नका लागि अनलाइन कक्षा संचालन गर्ने निर्णय भएको छ, विश्वविद्यालयलाई शान्त बनाउन लागि परेका छौं’–डीन दत्तले भने ।

उनले दोषीलाई कारवाही गरेरै छाड्ने भन्दै अबदेखि विश्वविद्यालयमा भौतिक क्षति गराउने विद्यार्थीहरुलाई नै क्षतिपुर्ती भराउने निर्णय समेत गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया