
कावासोती ।अनेरास्ववियु केन्द्रिय अध्यक्ष सुतिना बरालले समता मूलक समाज निर्माण गर्नु अनेरास्ववियुको जिम्मेवारी भएको बताउनुभयो । अनेरास्ववियु जिल्ला कमिटी नवलपुरको २५ औं जिल्ला सम्मेलनमा बोल्दै अध्यक्ष बरालले देशको वर्गीय विभेद, शैक्षिक समानता र जीवन उपयोगी शिक्षाको लागि अखिल अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाको गुणस्तरीयता विकासमा सधैँ अनेरास्ववियुले खबरदारी गर्नुपर्ने समेत बताउनुभयो ।
शिक्षाको विकृति र विसंगति विरुद्धको आन्दोलननै अखिलको मूल लक्ष्य रहेको समेत उहाँले बताउनुभयो । केन्द्रीय अध्यक्ष बरालले अनलाइन शिक्षाका नाममा अभिभावक ठग्न नपाइने समेत बताउनु भएको छ । उहाँले अखिलले समय अनुकुल आफ्नो आन्दोलन , कार्यभार र कार्यदिशा समेत परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
अनेरास्ववियु नवलपुरका संयोजक सुरज सापकोटाको अध्यक्षतामा भएको खुल्ला सत्रमा नेकपा एमालेका विभिन्न ओहोदाका नेता , जनवर्गीय सङ्गठनका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो । अनेरास्ववियुको २५ औं सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।