निर्मल पाैडेल
चितवन । नारायणगढको पोखरा बसपार्कमा रहेको श्री गौरेश्वर पशुपति मन्दिरले रजत महोत्सव मनाउने भएको छ । यही फागुन १६ र १७ गते रजत महोत्सव–२०७८ मनाउन तयारि गरिएको हो ।मन्दिर व्यवस्थापन समितिले आज शनिबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष एवम् महोत्सव मूल समारोह समितिका संयोजक सूर्य कुमार प्रकाण्ड पियाले रजत महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताए ।
रजत महोत्सवको गलेश्वर आश्रम देवघाधामका पिठाधिस अनन्त श्री विभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरीजी महाराजजीका बाहुलीबाट समुद्घाटन हुने कार्यक्रम रहेको पियाले बताए ।
उनका अनुसार फागुन १६ गते ७ः३० बजे शोभायात्रा, बिहान ११ः३० बजे समुद्घाटन, मध्यान्ह १२ः०० बजे स्मारिका विमोचन कार्यक्रम, दिउँसो १ बजेदेखि विशेष सम्मान कार्यक्रम यस्तै, फागुन १७ गते बिहान ६ः०० बजेदेखि शिव पुजन तथा अर्चना, विहान ११ः३० बजे मञ्चका कार्यक्रमहरु संचालन, मध्यान्ह १२ः०० बजेदेखि सम्मान कार्यक्रम तथा दिउँसो ४ः०० बजे रजत महोत्सव २०७८ समापन कार्यक्रम रहेको छ ।
गौरेश्वर पशुपतिमन्दिरमा २०५० सालदेखि हालसम्म १० हजारभन्दा भन्दा बढी आर्थिक सहयोग गर्नुहुने चन्दा दाताहरुलाई १६ र १७ गते विशेष सम्मान गर्ने कार्यक्रम रहेको पनि पियाले जानकारी दिए ।यस्तै महोत्सवमा गौरेश्वर रजत महोत्सवद्वार र रजत स्तम्भको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको पियाले बताए । पियाका अनुसार बलराम जोशीको निजी लगानीमा रजतद्वार निर्माण गरिएको हो ।
मन्दिर निर्माण भएको २८ वर्ष पूरा भइसकेको छ । विं।स। २०५० सालमा भरतपुर २ निवासी सुर्य कुमार प्रकाण्ड पिया र श्रीमती चिनीदेवि पियाबाट निजी लगानीमा श्री गौरेश्वर पशुपति मन्दिर, पुजारी निवास कक्ष र कम्पाउण्ड वालसमेत निर्माण भएको थियो । ‘नेपालको मध्य भाग पावन पवित्र भूमि देवघाटको समिप, शालिग्राम भगवानलाई गर्भमाधारण गर्दै बगिरहने नारायणी नदीतटको संरक्षण गर्ने उद्देश्य अनुरुप २०४५ सालमा भरतलाल प्रधानको अध्यक्षतामा ९ सदस्यीय मन्दिर निर्माण समिति गठन गरी तत्कालिन भरतपुर नगर पञ्चायतबाट मन्दिर निर्माणको स्विकृती प्राप्त गरी निर्माण गरेका थियौं’ पियाले पत्रकार सम्मेलनमा भने ।