नवलपुर । गण्डकी प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको त्रिवेणी-पोखरा-कोरला सडक मार्गको नवलपुरको डेढगाउँ-झ्यालबास खण्डको मंगलबार शिलान्यास गरिएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेलले सडकको शिलान्यास गरेका हुन ।

५१ करोडको लागतमा निर्माण सम्पन्न हुने गरि नवलपुरको झ्यालबास देखि डेढगाउँ जोडने १४ किलोमिटर सडकको निर्माण कार्य चैत्र देखि सुरु भएर ३० महिनामा सकिने पुर्वाधार कार्यालय नवलपुरले जनाएको छ । सडकको दुवै साईडमा नाली बन्ने र कालो पत्रेको भाग ७ मिटरको रहने पुर्वाधार कार्यालयले जनाएको छ ।

सडकको शिलान्यास पछिको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री नेपालीले त्रिवेणी-पोखरा-कोरला सडक प्रदेशको गौरवको योजना रहेकाले समयमै काम सम्पन्न हुने बताए । त्रिवेणी-पोखरा-कोरला सडक आर्थिक, धार्मिक र पर्यटनका हिसाबले निकै महत्त्वपूर्ण रहेको बताउदै मुख्यमन्त्री नेपालीले समग्र प्रदेशको विकासमा यो सडक महत्त्वपूर्ण हुने दाबि गरे ।

नवलपुरको झ्यालबास, रुचाङ, डेढगाउँ हुदै तनहु मानपुर फुला सडकमा जोडिएर तनहुको खैरेनी हुदै पोखरा सम्म यो सडकले जिल्लालाई प्रदेश राजधानी सँग जोडने भएकाले पनि पहाडी क्षेत्र र समग्र जिल्ला विकासका लागि पनि सडकले महत्वपुर्ण अर्थ राख्ने मुख्यमन्त्री नेपालीले बताए ।

संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतम, विधायन समिति सभापति विष्णुप्रसाद लामिछाने, प्रमुख सचिव रवीलाल पन्थ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रदेशको आवश्यकता महसुस गरी विकासको काम अगाडि बढाइएको भनाइ राखे ।

उक्त अवसरमा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख चेसराम आले, भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठ, हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, बौंदीकाली गाउँपालिका अध्यक्ष दुर्गाबहादुर राना, उपाध्यक्ष मायादेवी श्रेष्ठ, नेकपा एमाले जिल्ला सदस्य एवं बौंदीकाली गाउँपालिका इन्चार्ज श्यामसुन्दर श्रेष्ठ, नेपाली कांग्रेस पालिका सभापति केबी रानाले स्थानीय आवश्यकताका बारेमा चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया