काठमाडौँ – अमेरिकी सहायता परियोजना सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी प्रतिनिधि सभामा पेस हुने भएपछि ६ राजनीतिक दल र सामाजिक अभियन्ता भनेर चिनिएका दुई मोर्चाले सिंहदरबार र संसद् भवन घेराउ गर्ने भएका छन् ।
घेराउलाई निस्तेज गर्न दुई हजार एकसय ५३ प्रहरी परिचालन गर्ने भएको छ । एसएसपी सुदीप गिरीको नेतृत्वमा प्रहरी परिचालन हुने गृह स्रोतले जानकारी दिएकाे छ । ‘एमसीसी संसद्मा पेस हुने भएपछि विरोध बढ्ने देखियो,’ गृह स्रोतले भन्यो, ‘सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको छ ।’
सडकमा सवारी आवागमन अवरुद्ध हुन नदिने, नागरिक सुरक्षामा ध्यान दिने, आवश्यक परे सशस्त्र प्रहरीलाई पनि अग्रभागमै खटाइने बताइएको छ ।