भूमिलाल पौडेल
गैंडाकोट । गैंडाकोट नगरपालिकाले आफ्नो ५ वर्षको कार्यकालको प्रगति समिक्षा गर्दै दशौं साधारसभा सम्पन्न गरेको छ । नगरको पूर्वाधार तथा भौतिक विकास, शिक्षा, पशु एवं कृषि, आर्थिक विकास, महिला वालवालिका तथा समाज कल्याण, स्वास्थ्य र शासकीय व्यवस्था एवं सुशासन लगायतका विषयमा आर्थिक वर्ष २०७४र७५ देखि हालसम्मको प्रगति समिक्षा गर्दै विहिवार दशौं नगर सभा सम्पन्न भएको हो ।
नगरको हालसम्मको प्रगति समिक्षाको प्रतिवेदन सभामुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । यसैगरि नगर उप प्रमुख विष्णुकुमारी कंडेलले नगर सभामा पाँचवर्षे कार्यकालको अनुभव र नगरको प्रगतिमा स्थानिय सरकारको कार्य प्रगति सहितको मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दशौं नगर सभामा प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले ९ औं साधारण सभा देखि हाल सम्म भएका प्रशासनिक गतिविधिहरुका विषयमा जानकारी गराउनु भएको थियो । सभामुख एवं उपप्रमुखको प्रतिवेदन माथि नगरका ७ जना नगर सभा सदस्यहरुले टिप्पणी गर्नु भएको थियो ।
सदस्य राजेन्द्र प्रसाद पौडेलले विगतको प्रतिवेदनमा ‘कालिगण्डकीको पानी गैंडाकोटको लगानी’ समावेश भएपनि अहिलेको प्रतिवेदन उक्त विषयलाई समावेश नगरिएको टिप्पणी गर्नुभएको थियो । सदस्य इश्वरी चापागाईले निर्माणाधिन योजनाहरुलाई प्रतिवेदनमा समावेस नगरिएको, वडामा सुकुम्बासी समस्या बढ्दै गएको तर्फ नगरपालिकाले चाँसो नदिएको र ढुङ्गा – गिटी वापतको रकम स्थानिय विकासमा लगाउने कुरा भए पनि व्यवहारमा कार्यान्वयन नभएको लगायतको असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
अर्का नगर सदस्य कुमारी रेखा पौडेलले प्रतिवेदनमा प्रगतिका कुराहरुमात्र समावेश गरिएको तर आफूहरुले वडामा काम गर्दा आएका अप्ठ्याराहरुको जिकिर नगरिएको गुनासो गर्नुभयो । उहाँले खेलकुद र सहकारी जस्ता क्षेत्रहरुको वैधानिक समिति बन्न नसक्दा ऐनहरु बनाउन नपाएकाले ति क्षेत्रहरु पछि परेको टिप्पणी समेत गर्नुभएको थियो ।
यसैगरि सदस्य गोविन्द कोइरालाले नेपाल विश्वविद्यालयको विषय नगरमा आएकोमा खुसी व्यक्त गर्दै तर त्यसबारे स्थानियलाई कुरा बुझाउन नसक्नु नगरपालिकाको कमजोरी भएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कावासोतीको मालपोत र नापी शाखाबाट सेवा लिंदा अत्यान्तै झंझटिलो र असुविधा भएकोले त्यसको शाखा गैंडाकोट नगरपालिकामा ल्याउन माग गर्नुभयो ।
नगर सभा सदस्य प्रकास सापकोटाले विगतमा घोषणा गरिएका योजनामा भएको प्रगति विवरण प्रस्तुत प्रतिवेदनमा पनि समावेश गरिनुपर्ने सुझाव हिँदै इलाका प्रहरी कार्यालयको लागि चाहिने जग्गा अहिलेसम्म नगरले व्यवस्थापन गर्न नसकेको भनि गुनासो गर्नुभएको थियो । सभामा सदस्यहरु तोयाराम पौडेल र दलबहादुर थापाले पनि आ आफ्नो टिप्पणी राख्नुभएको थियो ।