गैंडाकोट। गैँडाकोट नगरपालिका वडा नं‍. ९ को वडा कार्यालयको भवनको उद्घाटन भएको छ । नगरप्रमुख छत्रराज पौडेलले रिवन काटेर नवनिर्मित वडा कार्यलय भवनको बुधबार उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले स्थानीय समाजसेवी, भवन निर्माण समितिका पदाधिकारी, वडावासी र वडाका प्रतिनिधिहरुले अत्यान्त मेहनत र परिश्रमकासाथ निर्माण सम्पन्न गरि हस्तान्तरण गरेकोमा आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिनुभयो । उहाँले विगत पाँचवर्षमा नगरका निर्माणका धेरै कामहरु सम्पन्न भएको वताउँदै आगामी दिनहरुमा आफु नगरको जनप्रतिनिधि भएपनि, नभएपनि नगरको विकासको निम्ति निरन्तर लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

गैँडाकोट नगरपालिकाको कार्यालय र वडा नं ९ को लगानि रहेको उक्त भवन निर्माणमा ४३ लाख २३ हजार ३ सय ७० रुपैयाँ खर्च भएको छ । नवनिर्मित २ तले भवनमा वडा कार्यालय सँगै भूईतलामा आधारभूत स्वास्थ्य केन्द्र  रहेको छ । आधारभूत स्वास्थ्य केन्द्र गत जेठदेखि संचालनमा आएको थियो भने सोही समयदेखि माथिल्लो तलामा वडा कार्यलयको निर्माण सुरु भएको थियो ।

कार्यक्रममा आफ्ना भनाईहरू राख्दै विशिष्ट अतिथि एवं नगर उपप्रमुख विष्णुकुमारी कँडेलले आफुहरु पहिलो पटक निर्वाचित भएर आएपछि अधिकांश समय सिकाईमै वितेको बताउनुभयो । ‘अधिकाशं समय सिक्नमै वित्यो, उहाँले भन्नुभयो – ‘तथापी नगरको विकाशमा हामीले धेरै काम गर्न सफल भएका छौं ।’

कार्यक्रममा बोल्दै  वडा अध्यक्ष प्रेम प्रसाद सापकोटाले उपभोक्ता समितिले एउटाले मात्रै वडा कार्यालय निर्माण गर्ने कार्य कठिन भएको बताउनुभयो । उहाँले निर्माणको कार्य कठिन भएपनि भवन निर्माण समिति, नगरपालिका, स्थानिय समाजसेवी, व्यवसायी र वडावासीहरुको सक्रियतामा निर्माण सम्मन्न भएकोमा आभार ब्यक्त गर्नुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य वक्तव्य व्यक्त गर्ने अन्य वक्ताहरूमा भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नारायणप्रसाद भट्टराई, समाजसेवी टीकाराम सापकोटा, टोलसुधार समितिका अध्यक्ष ज्ञानप्रसाद खनाल, नारायणी माबिका पूर्व अध्यक्ष गंगावहादुर पाण्डे, वडा नं। १३ का वडा अध्यक्ष पदम पौडेल, वडा नं। १ का वडा अध्यक्ष हरिप्रसाद सापकोटा लगायत रहनुभएको थियो ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने समाजसेवीहरूको सम्मान समेत गरिएको थियो ।वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा नं ९ का जनप्रतिनिधि धामनाथ सापकोटाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन भवन निर्माण उपभोक्ता समितिका सचिव कल्पना देवकोटाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया