घोराही ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा भीषण आगलागी भएको छ । आगलागीमा पाँच जनाको घरभित्रै फसेर मृत्यु भएको हो । चार जना पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु भएको इलाका कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

आगो कम भएपछि बिहान साढे ७ बजेतिर शव निकालिएको हो । घरको तेस्रो तलाबाट ३ जना र चौथो तलाबाट २ जनाको शव निकालिएको हो । पाँचै जनाको धुवाँमा निसासिएर मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार मृतकको पहिचान हुन बाँकी छ ।

आगलागीमा परी एक जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको छ ।विद्युतको मिटर पड्किंदा आगलागी भएको अनुमान छ । आगलागीबाट सोही घरमा रहेको इरम फुटवेयर चप्पल गोदाममा पनि क्षति भएको छ ।

आगलागी बिहान २ बजेदेखि सुरु भएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी तथा घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिइएको छ ।

तपाईको प्रतिक्रिया