
नवलपुर। वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन कार्यालय नवलपुरले निर्वाचन लक्षित काम सुरु गरेको छ ।कार्यालयले मतदाता नामावलीको काम रोकेर संकलित मतदाताको सूचीलाई रुजु गरी निर्वाचन आयोग पठाउने गरी काम सुरु गरेको हो ।
निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भूसालले मतदाता नामावली दर्ता रोकिएको बताउँदै आन्तरिक रुपमा निर्वाचनको तयारीको लागि काम सुरु गरेकाे बताउनुभयाे । उहाँले संकलित मतदाताको सूचीलाई पुनःपरीक्षण गरेर निर्वाचन आयोगमा पठाउने तयारी भैरहेको उज्यालो खबरलाई बताउनुभयाे । कार्यालयको तथ्यांकअनुसार नवलपुरमा २ लाख ६० हजार ९ सय ७३ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम समावेश गरेका छन ।यतिको संख्यामा नामावली समावेश भएपनि निर्वाचन घोषणाको दिनसम्म १८ वर्ष पुगेकोले मात्र निर्वाचनमा सहभागी हुन पाउने कानूनी ब्यवस्था छ ।
सबै मतदाताको सूचीलाई रुजु गरेर निर्वाचन आयोगमा पठाइन्छ, कार्यालय प्रमुख भूसालले भन्नुभयो :निर्वाचन आयोगले हाम्रो मतदाताको सूची हेरेपछि फोटोसहित जिल्ला निर्वाचन कार्यालयलाई नामावली पठाउछ । आएको सूचीलाई हामीले स्थानीय तहका वाड वाडमा टाँस्नेछौं । केही दाबी विरोध भएपछि त्यसलाई सच्याएर पुनः आयोग पठाएपछि बल्ल मतपत्र छपाइका काम सुरु हुनेछन् ।
निर्वाचन आचारसंहिताअनुसार नवलपुर निर्वाचन कार्यालयलाई मतदाता नामावली संकलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन निर्वाचन आयोगले निर्देशन दिएको छ । कानुनी व्यवस्थाअनुसार निर्वाचनको मिति घोषणापछि मतदाता नामावली संकलन गर्न पाइँदैन । सोहीअनुसार आयोगले उक्त कार्य रोकेको हो । हालसम्म देशभर एक करोड ९० लाख जनाले मतदाता नामावलीमा नाम समावेश गराएको आयोगको प्रारम्भिक तथ्यांक छ ।