
चितवन । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको माडीमा रहेको मगर होमस्टे पर्यटकको रोजाइमा पर्दै गएको छ ।माडी नगरपालिका वडा नम्बर ८ मा रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे मगर होमस्टे पर्यटकको आकर्षण बढ्दै गएको हो । न्यानो आतिथ्यताका माध्यमबाट गाउँघरका परम्परागत संस्कृति, रहनसहन तथा मौलिक उत्पादन तथा सेवाले पर्यटकलाई होमस्टेले आकर्षित गरेको हो ।
मारूनी, सोरठी, कौडा, सालैजो, ठाडोभाका, लाखे नाचलगायतका गीत र नृत्य मगर समुदायको मौलिक पहिचान रम्ने गरेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष मोहनबहादुर पुनमगर बताउँछन् । प्रायः होमस्टे सञ्चालन भएका गाउँमा यातायातको सुविधा भएपछि पर्यटक सीधै होमस्टेका लागि पुग्ने गरेका छन् ।
पुनमगरको बाहुल्यता रहेको यो ठाउँमा १३ घर होमस्टेमा मगर संस्कृति, सोरठी, मारूनी, थाल नाचको प्रस्तुति हुने गरेको छ । मोहनबहादुर पुनमगर लगायत तुलबहादुर पुनमगर, चन्द्रबहादुर थापामगर, पम्फा श्रेष्ठ, गौमाया पुनमगर, शान्ति पुनमगर, गीतादेवी पुनमगर, नैना श्रेष्ठ, लालबहादुर पुनमगर, ठिलबहादुर पुनमगर, गीता पुनमगरलगायत १३ घरपरिवारले एउटा घरमा दुई कोठा र चार बेडका हिसाबले ५२ बेड क्षमताको होमस्टे चलाउँदै आएका छन् ।
परम्परागत खानासँगै संस्कृति र कलाको आनन्द त्यहाँको घरवासमा लिन सकिन्छ । सो क्षेत्रमा रहेका निजी होटलकोभन्दा कम खर्चमा राम्रो सुविधा पाउने भएपछि माडी छिर्नेहरु त्यहाँको घरवासमा आकर्षित हुने गरेका हुन् ।
‘हामीकहांँ पर्यटकको चाहना अनुसार ताजा, अर्गानिक परिकार पनि पाईन्छ पुन मगरले भने, अन्य होटलहरु भन्दा सस्तो तर सेवा सुविधा पनि बढी छ ।’
पोखरीको ताजा माछासँगै स्थानीय जातको धान कुटेर पकाइने भात, फापर वा कोदोको रोटी, चामल वा कोदोको लोकल रक्सी, लोकल कुखुराको मासु मगर होमस्टेमा उपलब्ध परिकार हुन् ।माडी छिर्ने पर्यटक निजी होटल छोडेर घरवासमा बस्ने गरेको मगरको भनाइ छ । हालसम्म हामीले १५ हजारभन्दा बढी पाहुनाको स्वागत गरिसकेका उनले बताए । घरवासमा आउने पर्यटकलाई मगर समुदायले फूलमालाले स्वागत गर्ने गर्दछन् ।
होमस्टेमा एउटा घरमा दुईओटा कोठामा तीन जनाका दरले छ जना बस्न सक्ने क्षमता रहेको छ । सबै कोठामा सँगै शौचालय, तातोपानी जस्ता आवश्यक सुविधा रहेका छन् । एट्याच बाथरूमसहितको कोठा, स्थानीय परिकार र मगर सांस्कृतिक कार्यक्रमको प्याकेज निर्माण गरेर आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा आउने गर्दछन् ।
घरवासमा ६०० मा बस्ने र २५० मा खाना खुवाउने गरिएको छ । घरमै पालेका स्थानीय जातको हाँस, कुखुराको मासु खुवाइन्छ । घरवासका लागि दुई जनालाई स्थानीय जातको कुखुरा पाल्न र दुई जनालाई तरकारीखेती गर्नसमेत सहयोग गरिएको उनी बताउँछन् ।
विसं २०७२ मा शुरु भएको घरवासको बीच भागमा ठूलो सामुदायिक भवन रहेको छ । जहाँ मगर जातिको पहिचान झल्कने सांस्कृतिक कार्यक्रम देखाइन्छ । म्याग्दी, पर्वतबाट बसाइँ सरी यहाँ आएका पुनमगर समुदायको घरवासमा सोरठी, मारूनीसमेतको आनन्द लिन पाइन्छ ।
ठूलो समूहमा पाहुनाको उपस्थिति हुँदा खाना पकाउने व्यवस्थासमेत सामुदायिक भवनमै हुने मगरले बताए । नजिकै रहेको मचानबाट सूर्योदय, सूर्यास्त र वन्यजन्तु अवलोकन गर्न सकिन्छ ।माडी ऐतिहासिक, धार्मिक र जैविक विविधताले भरिपूर्ण देशकै १०० पर्यटकीय गन्तव्य मध्ये एक पर्यटकीय गन्तव्य भित्र पर्दछ । अभियान दैनिकबाट