×

चितवन – तनहुँको देवघाट र चितवनको ठिमुरा जोड्न त्रिशुली नदीको पुल निर्माणको काम तत्काल अघि बढाउन पक्की पुल निर्माण समितिले माग गरेको छ ।समितिले आज शुक्रबार जिल्ला समन्वय समिति तनहुँलाई ज्ञापनपत्र बुझाउदै तत्काल पुलको काम अघि बढाउन माग गरेको हो । ज्ञापनपत्रमा माघ २५ गते भित्र कार्य प्रगति हुने गरी काम अघि बढाउन भनिएको छ ।

समितिले सो मिति भित्र काम अघि नबढेको खण्डमा संघर्षको कार्यक्रममा गरिने चेतावनी समेत दिएको छ । त्रिशुली नदीमा पुल निर्माणको क्रममा गत वर्षको चैत २४ गते दुई वटा स्ल्याब भाँचिएको थियो । यस्तै बैशाख १२ गते पुनस् चितवन तर्फको स्ल्याब भाँचिदा दुई मजदुरको मृत्यु भएको थियो ।

जिल्ला समन्वय समिति चितवनका प्रमुखको संयोजकत्वमा गठित अनुगमन समितिले एक वर्ष भित्र भत्किएको पुल निर्माण सम्पन्न गर्न भनेको थियो । तर जलप नेपाल प्रालिले बीमा दाबीको आधिकारिक सुनिश्चितता नभएसम्म पुलको ट्रस वृज निर्माण गर्न नसकिने बताएको छ ।

जलप नेपालले काम अघि बढाउन नसक्ने भन्दै पत्र पठाएपछि बुधवारको बैठकको निर्णय अनुसार २५ गते भित्र कार्य प्रगती देखिने गरी काम अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाईएको समितिका अध्यक्ष टंकनाथ पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया