चितवन । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु चितवनले भरतपुरमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।उनीहरुले प्रधानमन्त्री देउवाको विरुद्धमा चर्को नाराबाजी गर्दै दर्जनभन्दा बढी पुत्ला दहन गरेका छन् । उनीहरुले मसाल जुलुस समेत निकालेका थिए । वीरेन्द्र बहुमुखी क्याम्पसबाट सुरु भएको मसाल जुलुस चौबिसकोठीमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले मसाल जुलुस खोस्न खोजे पनि छल्दै उनीहरुले चौबिसकोठीसम्म मसाल बालेका थिए ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गनुपर्ने, सिटामोलको पर्याप्त व्यवस्था गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग गर्दै प्रदर्शन गरिएको युवा संघ चितवनका संयोजक शंकर अधिकारीले बताए ।विद्यार्थी तथा युवाहरुले स्थानीय तहको निर्वाचन मिति घोषणा गर, संविधानको रक्षा गर, लोकतन्त्रको रक्षा गर लगायतका नारा लगाउँदै उक्त नारा लेखिएका ब्यानर तथा प्लेकार्ड समेत बोकेका थिए ।

कोणसभालाई एमाले चितवनका युवा नेता कमल पाठकले संवोधन गरेका थिए । सो अवसरमा अनेरास्ववियुका केन्द्रीय नेताहरु प्रकाश भट्ट, देव पाठक, युवा संघका केन्द्रीय नेताहरु प्रताप डल्लाकोटी, सुशिल केसी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया