×

नवलपुर । नेपाली काँग्रेस एकता टोल विकास समितिभित्र रहेका साधारण तथा क्रियाशील सदस्यहरूको भेलाले विष्णुप्रसाद ढकालको नेतृत्वमा ११ सदस्यीय टोल समिति गठन गरेको छ । कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का प्रदेश सहसचिव शालिकराम घिमिरे प्रमुख अतिथि रहनुभएको थियो । उहाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सशक्त ढंगले पार्टी गतिविधिलाई अगाडि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा निवर्तमान पार्टी सभापति तारापति खरेलले वर्षमा कुनै न कुनै नौलो कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली काँग्रेस नगर सचिव गोविन्द घिमिरेले टोल छिमेकमा आत्मीय सम्बन्ध राख्ने पार्टी भनेकाले नै सुखमा अनि दुःखमा काँग्रेस भनिएको सन्दर्भ उल्लेख गर्दै त्यसको सार्थकताका लागि टोलवासीलाई एकतावद्ध हुन आव्हान गर्नुभयो ।

कार्यक्रममा टोल विकास समितिको गठन त्यसको महत्व र भूमिकाबारे सहजकर्ता गोविन्द रिमालले प्रष्ट पार्नुभएको थियो । टोल समितिका सभापति खडानन्द उपाध्याय श्यामको सभापतित्वमा सम्पन्न सो कार्यक्रम वडा सचिव किरणकुमार केसीले सहजीकरण गर्नुभएको थियो । सरस्वती पौडेलको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा नवनिर्वाचित सभापति विष्णुप्रसाद ढकालले प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

नवनिर्वाचित समितिको उपसभापतिमा सरस्वती पौडेल, सचिव चन्द्रबहादुर थापा, कोषाध्यक्ष चक्रबन्धु भण्डारी र सदस्यहरूमा जमुना ज्ञवाली, मन्जु गौतम, सुनिता पाण्डे, भीमबहादुर श्रेष्ठ, भक्त बहादुर चमैया, सुमित्रा केसी र मेनुका थापा रहनुभएको छ नेपाली काँग्रेस वडा नं ५ कार्यसमितिको बैठकले वडाका सबै टोलमा समिति गठन गर्ने निर्णय भएकोले आफू सघन रूपमा अगाडि बढेको वडा सभापति लक्ष्मण कार्कीले बताउनुभयो । कार्यक्रममा प्रदेश प्रतिनिधि खगराज आचार्य, नगर उप सभापति रोशनभक्त अधिकारी, जनप्रतिनिधि पार्वती सापकोटा, नेविसंघ जिल्ला सभापति राजेश पौडेललगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया