चितवन। भरतपुरको गोन्द्राङमा निर्माणाधिन नालीको खोचमा परेर गैंडा मरेको घटनामा ठेकेदार कम्पनीका सञ्चालकलाई पक्राउ पूर्जी जारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले इण्डो सगुन जेभीका सञ्चालक सहदेव खड्कालाई पक्राउ पूर्जी जारी गरेको हो । हिजो बिहीबारदेखि पक्राउ पूर्जी जारी गरिएको भए पनि शुक्रबार यो समाचार तयार पर्दासम्म खड्का पक्राउ परेका छैनन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जले अनुसन्धान अधिकृत तोकेर काम अगाडि बढाएसँगै ठेकेदार कम्पनीका सञ्चालक खड्कालाई पक्राउ पूर्जी जारी गरेको हो । निकुञ्जले सहायक संरक्षण अधिकृत राजु घिमिरेलाई अनुसन्धान अधिकृत तोकेको छ ।

गत आईतबार नालीको खोँचमा परेर गैंडा मरेको थियो । त्यस लगत्तै वन तथा वातावरण मन्त्रालयले समेत वन विभागका उपमहानिर्देशक डा। राजेन्द्र केसीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । समितिमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, विभागका योजना अधिकृत दिलबहादुर उर्जापुन, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र डिभिजन वन कार्यालय चितवनका प्रमुख पदमराज नेपाल सदस्य रहनु भएको छ ।

समितिले १० दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने हुन्छ । बिहीबार र शुक्रबार समितिले घटना भएको चितवन जिल्लामा सरोकारवालाहरुसँग छलफल गरेको छ ।

डिभिजन सडक कार्यालय चितवनले पुल्चोकदेखि गोन्द्राङसम्म ६ लेन सडकका लागि ठेक्का लगाएको थियो । सोही ठेक्का अन्तर्गत सगुनले काम गरेको हो । सडकले वन्यजन्तु कोरिडोरमा निर्माण गर्दा पालना गर्नुपर्ने ऐन कानुन अवलम्बन नगरी काम गर्दा घटना भएको निकुञ्जले जनाउँदै आएको छ । वन्यजन्तु कोरिडोरमा लापरवाहीपूर्ण तरिकाले काम भइरहँदा जिल्ला वन कार्यालय र निकुञ्ज मुखदर्शक बनेर बस्नु पनि गैरजिम्मेवारीपूर्ण रहेको संरक्षणकर्मीले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया