
सुस्मा न्यौपाने
गैँडाकोट । सरकारले सार्वजनिक सेवा प्राप्त गर्दा खोप कार्ड अनिवार्य गर्ने भनेसँगै खोप गैँडाकोटमा खोप लगाउनेहरुको अत्याधिक भिड लागेको छ । गैँडाकोट नगपालिकामा आजमात्रै ३ हजार ४ सय ९१ जनाले खोप लगाएका छन् । एकैदिनमा यतिका धेरैले खोप लगाएको यो पहिलोपटक हो ।
गैँडाकोट स्वास्थ्य चौकी, गैँडाकोट नगर अस्पताल र अमरापुरी स्वास्थ्य चौकीमा बिहीवार मात्रै ३ हजार ४ सय ९१ जनाले खोप सेवा लिएका हुन् । गैँडाकोट स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरिक्षक सरला कुमालले तीनवटा स्थानबाट एउटा मात्र डोज लगाए पुग्ने जोनसन खोप ३ हजार २ सय ७९ जनाले लगाएको बताउनुभयो ।
खोप लगाएका मध्ये १८ सय ५९ जना महिला र १४ सय २० जना पुरुष रहेका छन् । त्यसैगरी १५१ जनाले कोभिसिल्ड र ६१ जनाले भेरोसेलको दोस्रो मात्रा लगाएका छन ।जनस्वास्थ्य निरिक्षक कुमालले खोप सेवा लिनको लागि छिमेकी जिल्ला चितवनबाट समेत सर्वसाधरण आएको बताउनुभयो । हामिकहाँ खोप सेवा लिनको लागि छिमेकी जिल्लाबाट समेत स्थानीयहरु आउनु भयो, उहाँले भन्नुभयो :अत्याधिक चाँपका कारण शुक्रबारका लागि छुट्याइएको खोप समेत सकिएको छ ।
बिहीवार र शुक्रबार २ दिन एकपटक पनि खोप नलगाएकाहरुका लागि खोप लगाउने भन्दै सूचना जारी गरिएको थियो । बिहीवार नै जोनसन खोपको मात्रा सकिएपछि शुक्रबार (नयाँ एक पटक पनि खोप नलगाएकाहरुका ) का लागि तय भएको कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।