काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माघ १२ गतेको राष्ट्रियसभा सदस्य निर्वाचनपछि अरु राजनीतिक दलसँग चुनावी गठबन्धन नहुने बताएका छन् ।बुधबार शेखर कोइराला समूहका नेताहरुको छलफलमा महामन्त्री थापाले सरकारमा गठबन्धन कायमै रहे पनि राष्ट्रियसभा निर्वाचनपछि चुनावी गठबन्धन सकिने दावी गरेका हुन् । ‘तीनै तहको चुनावमा काङ्ग्रेस एक्लै प्रतिस्पर्धा गर्छ । चुनावी गठबन्धन हुदैन’ उनले भने ।

महामन्त्री थापाले पार्टी विधि र विधानअनुसार चल्नुपर्नेमा प्रारम्भिक संकेत राम्रो नदेखिएको बताए । ‘सभापतिज्यूले सबैलाई समेटेर लैजाने र विधिको पालना गर्ने कुरो बोल्नुभएको थियो, त्यो पालना भएन’ उनले भने ।पार्टीको संसदीय बोर्ड गठन गरेर बोर्डमार्फत नै राष्ट्रियसभा सदस्य उम्मेदवार चयन गर्नुपर्नेमा केन्द्रीय समितिबाट नाम चयन गर्नु विधान विपरीत हुने पनि थापाले बताए । आफूले सभापति शेरबहादुर देउवालाई यो कुरा सम्झए पनि बेवास्ता गरेको उनले बताए ।

थापाले शेखर कोइरालालाई बेवास्ता गरेर पार्टी नचल्ने पनि बताए । ‘महाधिवेशनमा ४० प्रतिशत मत पाएका शेखर कोइरालालाई बाहिर राखेर पार्टी चलाउँछु भन्नु दम्भ हो’ उनले भने ।

तपाईको प्रतिक्रिया