पोखरा । राष्ट्रिय सभामा गण्डकीबाट रिक्त ३ पदको निर्वाचनका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन्।सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आलेमगर र भुवन सुनारले मनोनयन दर्ता गरेका हुन्।यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका तर्फबाट पुण्यप्रसाद पौडेल, लीला थनेत र अर्जुनकुमार सुनामले उम्मेदवारी दर्ता गरेका छन्।

गण्डकीबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दीनानाथ शर्मा, खिमबहादुर विक र शान्ति अधिकारीको आउँदो असारमा पदावधि सकिने भएसँगै त्यही सिटको लागि चुनाव हुन लागेको हो।दीनानाथ र विक माओवादी केन्द्रको प्रतिनिधित्व गर्दै सदस्य बनेका थिए। तत्कालीन एमालेबाट सदस्य बनेकी शान्ति यतिबेला नेकपा एकीकृत समाजवादीमा छिन्।

गोलाप्रथा गर्दा उनीहरूको कार्यकाल ४ वर्षे भएको थियो। राष्ट्रिय सभाको निर्वाचन आउँदो माघ १२ गते हुँदैछ।निर्वाचनमा गण्डकीका ६९ जना प्रदेश सांसदसहित ८५ वटा पालिकाका प्रमुख र उपप्रमुखहरूले मतदान गर्नेछन्। गण्डकीमा ६० जना सांसद रहे पनि राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रदेश सांसद बनेका कृष्ण थापा पदमुक्त भएपछि सांसद संख्या ५९ मा झरेको हो।

गण्डकीबाट ३ जना सदस्यका लागि हुने निर्वाचनमा सत्तारूढ गठबन्धनले सहज जित हासिल गर्ने देखिएको छ। प्रदेश सभाका सबभन्दा ठूलो दल एमालेसँग २७ जना सांसद छन्। यस्तै, स्थानीय तहमा ६९ जना प्रमुखरउपप्रमुख छन्।

प्रदेश सांसदको मतभार ४८ र स्थानीय तहको प्रमुख उपप्रमुखको मतभार १८ गर्दा एमालेको मात्र २ हजार ५३८ मतभार देखिएको छ।यस्तै, गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका सांसद १५ जना छन्। स्थानीय तहका प्रमुख र उपप्रमुख गरी गण्डकीमा कांग्रेसका ८१ जना मतदाता छन्। सांसद र पालिका प्रमुख तथा उपप्रमुख गरी गण्डकीमा कांग्रेसको मतभार २ हजार १७८ रहेको छ।

माओवादी केन्द्रको गण्डकी प्रदेश सभामा १२ जना सांसद र पालिकामा प्रमुख र उपप्रमुख गरी १२ जना रहेका छन्। माओवादी केन्द्रको कुल मतभार ७९२ छ।यस्तै, जनमोर्चासँग प्रदेश सभामा २ जना सांसद र तीन जना पालिका प्रमुख र उपप्रमुख छन्। जनमोर्चाको मतभार १५० छ भने जनता समाजवादी पार्टीका २ जना प्रदेश सांसदको मतभार ९६ रहेको छ। नेकपा एकीकृत समाजावादीसँग गण्डकी प्रदेश सभामा एक जना पनि सांसद छैन। तर समाजवादीमा स्थानीय तहको एक जना उपप्रमुख रहेका छन्, जसको मतभार १८ छ।

यसरी सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा, जनता समाजवादी र एकीकृत समाजवादी गरी ५ दलको कुल मतभार ३ हजार २३६ पुग्छ, जुुन संख्याले राष्ट्रिय सभा सदस्य जित्न पर्याप्त छ।एमालेको कुल मतभार भन्दा सत्ता गठबन्धनको मतभार ६९८ ले बढी भएकाले जित सुनिश्चित भएको सत्ता गठबन्धनका नेताहरूले बताएका छन्।

गण्डकी प्रदेशमा स्वतन्त्र रूपमा जितेका सांसद दीपक मनाङे र विभिन्न स्थानीय तहका ५ जना प्रमुख तथा उपप्रमुख छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना पालिका उपप्रमुख पनि निर्वाचित छन्।राप्रपाले उम्मेदवार उठाएन भने कसलाई मतदान गर्ने समेत अहिलेसम्म खुलाएका छैनन्।

यस्तै, स्वतन्त्र सांसद मनाङेसहित स्वतन्त्र उम्मेदवारी दिएर जितेका अन्य उम्मेदवारहरूले पनि अहिलेसम्म कसलाई मतदान गर्ने खुलाएका छैनन्।सत्तारूढ गठबन्धनमा आफैं स्पष्ट बहुमतमा भएकाले राप्रपा र अन्य स्वतन्त्र निर्वाचित जनप्रतिनिधिलाई आफूतर्फ तान्न प्रयास गरेका छैनन्।उता, प्रतिपक्षी दल एमालेले पनि राप्रपा र स्वतन्त्र जनप्रतिनिधिलाई आफ्नो पक्षमा ल्याए पनि बहुमत पुग्ने देखेको छैन। एमालेसँग राप्रपा र स्वतन्त्र जनप्रतिनिधि मिल्दा पनि बहुमत नपुग्ने भएकाले उनीहरूसँग मत नमागेको एमालेका एक नेताले बताए।

तपाईको प्रतिक्रिया