गोविन्द घिमिरे

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. ४ मा अवस्थित लक्ष्मी माध्यामिक विद्यालयलाई (ICT Based Classroom Support Programme) सूचना तथा प्रविधि मैत्री कक्षाकोठामा रुपान्तरण गरिने भएको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाले सो विद्यालयलाई सूचना तथा प्रविधि मैत्री कक्षाकोठा निर्माणका लागि सहयोग गर्ने भएको हो ।

देशभरका विभिन्न विद्यालयहरुले पेश गरेका आशयपत्रहरु मुल्याकंन गर्दा चितवन जिल्लाबाट लक्ष्मी माध्यामिक विद्यालय छनौट हुन सफल भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डा. केशवभक्त सापकोटाले जानकारी दिनुभयो ।उहाँका अनुसार विद्यालयका सबै कक्षाकोठाहरु सूचना प्रविधिमैत्री बन्नेछन् । सूचना प्रविधिमैत्री कक्षाकोठा भएपछि विद्यार्थीहरुलाई स्मार्टबोर्ड पद्धतीबाट अध्यापन गराईनेछ भने सबै कक्षाकोठाहरुमा प्रोजेक्टर मार्फत पढाई हुनेछ । सोको प्रयोग सँगै शिक्षकहरुलाई मार्कर बोक्नुर्ने झन्झटसमेत हट्ने छ ।

विद्यालयका प्रधानाध्यापक रेशमबाबु ढकालले ५५ वर्ष पुरानो ईतिहाँस बोकेको आफ्नो विद्यालय अव्वल ठहरिदै छनौटमा पर्न सफल हुनु खुसीको कुरा भएको बताउनुभयो ।प्रधानाध्यापक ढकालले परियोजना सँग यहि पौष २२ गते काठमान्डौमा सम्झौता गरिने र तत्कालै कामको सुरुवात हुने समेत बताउनुभयो । उहाँका अनुसार विद्यालयलाई सूचनाप्रविधि मैत्री बनाउन रु ३२ लाख बराबरको रकम उपलव्ध हुनेछ ।

केहिवर्ष अघिदेखिमात्रै लक्ष्मी माध्यामिक विद्यालयमा सीटीईभीटी अन्तर्गत डिप्लोमा ईन जियोमेटिक्स ईन्जिनियरिङको पढाई समेत सञ्चालन हुँदै आएको छ । विद्यालयमा ११ सय  विद्यार्थीहरु अध्ययनरत छन् भने ४५ जना शिक्षक तथा कर्मचारी आवद्ध छन् ।

तपाईको प्रतिक्रिया