चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा गरिएको स्तरीकरणमा ७ ओटा होटल तथा रेष्टुरेण्टले उत्तम तथा ‘टू स्टार’ को मान्यता पाएका छन् ।टू स्टार मान्यता पाउनेमा अल्फ्रेस्को रेस्टुरेन्ट एण्ड सूर्योदय गेष्ट हाउस तथा होटलतर्फ पार्क सफारी, होटल रेन फरेष्ट, सपना भिलेज, जंगल क्राउन, होटल सेभेन स्टार, ल्यान्डमार्क, फरेष्ट पार्क रहेका छन् ।

होटल तथा रेस्टुरेन्टहरुले प्रदान गर्ने सेवालाई थप प्रभावकारी बनाउन स्तरीकरण गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले ३१ ओटा होटल तथा रेस्टुरेन्टको स्तरीकरण गरेको थियो । ती होटलमा गरिएको अनुगमनका क्रममा १० ओटा होटल तथा रेस्टुरेन्ट स्तरीकरणमै नपरेको खाद्य निरीक्षक प्रदीप काफ्ले जानकारी दिए ।

‘टू स्टार’ पाउने होटल तथा रेष्टुरेण्टलाई कार्यालयले हरियो स्टिकरमा दुईओटा स्टार प्रदान गरेको छ । ८ ओटा होटल तथा रेस्टुरेन्टले सन्तोषजनक स्थान पाएका छन् ।ती होटल तथा रेस्टुरेन्टलाई हरियो स्टिकरमा एउटा स्टार प्रदान गरिएको खाद्य निरीक्षक काफ्लेले बताए । सामान्य स्तर पाएका ६ ओटा होटल तथा रेस्टुरेन्टलाई पहेंलो स्टिकर प्रदान गरिएको छ ।

सन्तोषजनक मान्यता पाउने होटलतर्फ युनिक वाइल्ड रिसोर्ट, चितवन जंगल वाइल्डलाइफ क्याम्प, ग्रिज स्पोन, चितवन फरेष्ट रिसोर्ट, पार्क ल्यान्ड, राइनो लज, जंगल सफारी रिसोर्ट तथा रेस्टुरेन्टतर्फ केसी रेस्टुरेन्ट रहेका छन् ।त्यस्तै, सामान्यस्तरको मान्यता पाउने होटलतर्फ ट्राभल जंगल क्याम्प, होटल ओसिस, नेचर हेरिटेन, होली लज तथा रेस्टुरेन्टतर्फ सौराहा बिच, पोखरेली थकाली भान्साघर रहेका छन् ।

तर, सौराहामा पुराना तथा ठूलो लगानीमा सञ्चालित होटलहरु समेत स्तरीकरणमा नपरेको र एक पटकलाई मौका दिइएको खाद्य निरीक्षक काफ्लेले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवा र सरसफाइलाई केन्द्रित गरेर स्तरीकरण गर्ने गरेको छ ।

होटल तथा रेस्टुरेन्टको अवस्था, सरसफाइ, कर्मचारी व्यवस्थापन, खाद्य स्वच्छता, तेलको गुणस्तर, मालिकले कर्मचारीलाई गर्ने व्यवहार, पर्यटकलाई गर्ने व्यवहार, खानेकुराको भण्डारणलगायतका सूचक पूरा गरेका होटलहरुलाई स्टार दिइने गरिन्छ ।सौराहामा रहेका अन्य होटल तथा रेस्टुरेन्टहरुको पनि अनुगमन गरी स्तरीकरण तथा सुधारका लागि मौका दिइने खाद्य निरीक्षक काफ्लेले बताए ।

तपाईको प्रतिक्रिया