सुस्मा न्यौपाने
नवलपुर । गैँडाकोट नगरपालिकामा पाँचदिनमा ८९३ जना नयाँ मतदाता थपिएका छन् । पौष ५ गतेदेखि जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व)ले गैँडाकोट नगरपालिकामा सुरु गरेको फोटो सहितको मतदाता नामावली संकलनका क्रममा शनिवार सम्म ८९३ जनाले नाम दर्ता गराएका हुन् ।
हालसम्म गैँडाकोट नगरपालिका वडा नं. १,२,३,४,५ र ६ नम्बर वडामा स्थायी बसोबास गरेकाहरुले आफ्नो नाम दर्ता गराएका छन् । नाम दर्ता गराउन बाँकि रहेकाहरुले समेत नगरपालिका कार्यालयमा पुगी नाम दर्ता गराउन सक्ने जिल्ला निर्वाचन कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।
शनिवार सम्म संकलन गरिएको मतदाता नामावलीमा सबैभन्दा बढि गैँडाकोट नगरपालिका वडा नं २ का १७३ जनाले नाम दर्ता गराएका छन् । जसमा महिला ८९ जना र पुरुष ८४ जना रहेका छन् । त्यसैगरी गैँडाकोट नगरपालिका वडा नं. ५ मा १७१ जनाले मतादाता नामावलीमा नाम दर्ता गराएको गैडाकाेट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताउनु भयाे ।

९४ जना महिला र ७७ जना पुरुषले नाम दर्ता गराएका हुन् । वडा नं. ६ का ८५ जना महिला र ७९ जना पुरुष गरि १६४ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् भने वडा नं. ३ का ७९ जना महिला र ७२ जना पुरुष गरि १५१ जनाले नाम दर्ता गराएका छन् । वडा नं. १ का ६१ नना पुरुष र ५४ जना महिलाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् भने वडा नं. ४ का ६० जना पुरुष र ५४ जना महिलाले मतदाता नामावलीमा नाम दर्ता गराएकाे सुवेदीले बताउनु भयाे ।

यस बाहेक गैँडाकोट नगरपालिका वडा नं. ८ का ३ जना र वडा नं. १८ का २ जनाले पनि फोटो सहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् ।पौष १९ गतेसम्म सक्कल नागरिकता लगेर व्यक्ति आफै उपस्थित भएर मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने निर्वाचन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया