चितवन । चितवनमा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई पुस १३ गतेदेखि विद्यालयमै कोभिड विरुद्धको खोप लगाईने भएको छ । दुई सयभन्दा बढी संख्यामा खोप लगाउने विद्यार्थी भएका विद्यालयमै खोप केन्द्र राखेर लगाउन लागिएको हो ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार १२ वर्षदेखि १७ वर्ष ११ महिना २९ दिनभित्रका विद्यार्थीलाई खोप लगाईने छ । विद्यार्थीलाई फाईजरको खोप लगाउन लागिएको हो । तिवारीका अनुसार यो खोप माईनर ७० डिग्री सेन्टिग्रेड चिसोमा राख्नुपर्ने हुन्छ । तिवारीले भन्नुभयो “यो घोल्ने भ्याक्सिन हो । घोल्ने भए पनि लिक्वुडमा आउँछ ।” अरु खोपभन्दा फरक भएकाले जिल्लाभरिका स्वास्थ्यकर्मीहरुलाई खोप सम्बन्धि तालिम दिईसकिएको तिवारीको भनाई छ ।
जिल्लामा दुई चरणमा विद्यालय खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ । पुस १३ देखि १६ गतेसम्म पहिलो चरण र १७ देखि २० गतेसम्म दोस्रो चरणमा खोप अभियान सञ्चालन हुनेछ । पुस २२ गते छुटेका र विद्यालय नगएकाहरुलाई स्वास्थ्यकेन्द्रहरुमा खोप केन्द्र राखेर अभियान सञ्चालन गरिने तिवारीको भनाई छ ।
कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले पालिकाहरुमार्फत् विद्यालयहरुबाट विद्यार्थीको विवरण संकलन कार्य भईरहेको बताउनुभयो । उहाँले एकिन तथ्यांक संकलन कार्य भईरहेको जानकारी दिंदै खोप लगाउने उमेर समूहका करिब ८५ हजार विद्यार्थी जिल्लामा रहेको अनुमान गरिएको बताउनुभयो । खोप लगाउने सम्पूर्ण तयारी गरिएको भए पनि खोप भने अझै आईनसकेको उहाँको भनाई छ ।