नवलपुर । नवलपरासी (पश्चिम) प्रहरीले आज  बिभिन्न मुद्धामा फरार रहेका ९ जना अभियुक्त पक्राउ गरेको छ । बिभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकिई तत्काल सजाय भुक्तान गर्न बाँकी रहेका वैदेशिक रोजगार ठगी मुद्धाका १ जना, कुटपिट मुद्धाका ३ जना, गाली बेईजती मुद्धाका १ जना, जारी मुद्धाका १ जना, सवारी ज्यान मुद्धाका १ जना, चोरी मुद्धाका १ जना र नकवजनी चोरी मुद्धाका १ जना गरी जम्मा ९ जना फरार अभियुक्तहरु जिल्ला प्रहरी कार्यालय तथा मातहत समेतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानबाट पक्राउ गरेको हो ।

जिल्लाको रामग्राम नगरपालिका अन्तर्गतको एरियाबाट २ जना, सरावल गाउँपालिका अन्तर्गतको एरियाबाट १ जना, बर्दघाट नगरपालिका अन्तर्गतको एरियाबाट ४ जना, प्रतापपुर गाउँपालिका अन्तर्गतको एरियाबाट २ जना फरार अभियुक्त पक्राउ गरीएको छ । सम्मानित अदालतको लगत अनुसार प्रक्राउ पर्नेमा वैदेशिक रोजगार ठगी मुद्धाका १ जना अभियुक्तको ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरीवाना तोकिएका छ भने अन्य अभियुक्तहरुको कसुर अनुसार ७ दिन देखि २ महिना ४ दिन सम्म कैद र १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरीवाना तोकिएको छ जसमा न्यूनतम सजाय गाली बेईजती मुद्धाका एक जना अभियुक्तको १ सय रुपैयाँ जरीवाना रहेको छ ।

आज पक्राउ परेका ९ जना अभियुक्तहरुको एकमुष्ट जम्मा सजाय ३ बर्ष ३ महिना ४ दिन कैद र ३ लाख १२ हजार ९ सय ९१ रुपैयाँ जरिवाना रहेको छ । पक्राउ गरीएका सबै ९ जना फरार अभियुक्तहरुलाई आवश्यक कारवाहीको लागि आजै सम्मानित नवलपरासी जिल्ला अदालतमा पेश गरिएको र सम्मानित अदालतबाट लगत अनुसारको कारबाही भएको छ ।

तपाईको प्रतिक्रिया