चितवन – पूर्वी चितवनको रत्ननगरमा पौष २७ गतेदेखि १३ औं रत्ननगर महोत्सव आयोजना हुँदैछ । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा टिकौली चौरमा हुने महोत्सव माघ ८ गतेसम्म चल्नेछ ।१३ औं संस्करणको रत्ननगर महोत्सवमा कृषि र पशुजन्य व्यवसायलाई जोड दिईने बिहीबार सौराहामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । बृहत व्यवसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तकारी, थोपा सिचाई प्रविधि, केरा माछा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री महसँगै चितवनमा प्रवल सम्भावना भएका कृषि र पशुजन्य व्यवसायलाई महोत्सवमा जोड दिईने रत्ननगर उवासंघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक अनिल कृष्ण श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा स्थानीय स्तरमा उत्पादित ताजा तरकारी, फलफुल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसंघ सम्बन्धित सेवा, प्रविधि एवं मल बिउ बिजनहरुको प्रदर्शनी गरिने श्रेष्ठले बताए । उनका अनुसार महोत्सव अवधिभर कृषिसँग सम्बन्धित गोष्ठी तथा अन्तरक्रिया पनि हुनेछ । चितवनको बिकासका लागि आर्थिक क्षेत्रको स्थापना र चुनौतीका बिषयमा पनि गोष्ठी हुने उनले जानकारी दिए ।
महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि, माछाको भुराको प्रदर्शनी गरिनेछ । यस्तै माछापालन गर्ने तरिका तथा बजारिकरणको बिषय, अत्याधुनिक माछासहितको पोखरी। माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल र सचेतनामुलक सामाग्रीलाई पनि बिशेष प्राथमिकता दिइने उनले बताए ।कृषिसँगै पर्यटन प्रवर्द्धनलाई पनि जोड दिईने रत्ननगर उवासंघका अध्यक्ष श्रेष्ठको भनाइ थियो । जस अन्तर्गत साराहा, टिकौली होमस्टे, पहाडी पद यात्रा मार्ग, सिराइचुली, उपरदाङगढी, टिकौली ताल, चेपाङ ताल, बिसहजारी तालको प्रचार प्रसार गरिनेछ । महोत्सवमा यसपटक पनि फनपार्कलाई निरन्तरता दिइनेछ ।
महोत्सवमा ग्रेटर रत्ननगरको अवधारणालाई पनि अघि सारिनेछ । पूर्वी चितवनको रत्ननगर, राप्ती र कालिकालाई जोडेर ग्रेटर रत्ननगरलाई पनि महोत्सवमा प्रस्तुत गरिने उनले बताए ।महोत्सवमा तीन सय ५० वटा स्टल रहने आयोजकले जानकारी दिएको छ । यस पटक कोभिड संक्रमणको जोखिम कम गर्न स्ठल संख्या घटाईएको श्रेष्ठले बताए । यस अघिका संस्करणमा पाँच सयसम्म स्टल रहने गरेका थिए । “हामीले यस पटक स्टल संख्या पाँच सयबाट घटाएर तीन सय ५० बनाएका छौं, उनले भने, कोभिड संक्रमण हुन नदिन फराकिलो खाली ठाउँ राख्नका लागि स्टल संख्या घटाएका हौं ।”
तीन लाख दर्शकले महोत्सव अवलोकन गर्ने आयोजकको अनुमान छ । महोत्वसमा साधारणतर्फ प्रवेश शुल्क ५० राखिएको छ भने विद्यार्थीका लागि २५ रुपैयाँ तोकिएको छ । जेष्ठ नागरिक तथा फरक क्षमता बहेकाहरुलाई परिचयपत्रका आधारमा निस्शुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । महोत्सव अवधिभर स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ ।
राष्ट्रिय भलिवल तथा फुड फेस्टिवल
रत्ननगर महोत्सवमा यस पटक राष्ट्रिय भलिवल प्रतियोगिता पनि आयोजना हुने भएको छ । फेस्टिवल राष्ट्रिय खेलाडी सम्मिलित नौं टोलीले प्रतिस्पर्धा गर्नेछन् । सातै प्रदेशका एक-एक टिम तथा नेपाल आर्मी, शशस्त्र प्रहरी र नेपाल प्रहरीका तीन बिभागीय टोलीसहितका नौं टिम प्रतियोगितामा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।
यस्तै महोत्सव अन्तर्गत नै पौष २९ गतेदेखि माघ ३ गतेसम्म चिकेन एण्ड एग फुड फेस्टिवल पनि हुनेछ । रत्ननगरको टाँडी बजारमा हुने फुस फेस्टिवलमा जनजातीहरुको बिशेष खाना तथा मासुका परिकारहरु उपलब्ध हुनेछ ।