चितवन । चितवनमा यहि मंसिर १७ गते बाट मतदाता नामावली संकलन गरिने भएको छ । जिल्लाको भरतपुर महानगरपालिका बाहेक अन्य स्थानीय तहका लागि सम्बन्धित स्थानीय तहमै पुगेर मतदाता नामावली संकलन गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगरपालिका भित्र बसोबास गरेका र मतदाता नामावलीमा नाम समावेश नभएकाहरुको लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमै पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्न कार्यालयले आग्रह गरेको छ ।

जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले माडी नगरपालिका, कालिका नगरपालिका र ईच्छाकामना गाउँपालिकामा मंसिर १७ गतेदेखि पौष २ गतेसम्म मतदाता नामावली संकलन गरिने जानकारी दिनुभयो ।पहिलो चरणमा यी तीनवटा स्थानीय तहमा दर्ता कर्मचारी खटाएर मतदाता नामावली संकलन गर्न लागिएको हो । मतदाता नमावली विशेष कार्यक्रम २०७८ अन्तर्गत स्थानीय तहको केन्द्रमै पुगेर फोटो सहितको मतदाता नामावली संकलन गर्न लागिएको कार्कीले बताउनु भयो ।

त्यसै गरि दोस्रो चरणमा जिल्लाको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पौष ४ गतेदेखि पौष १८ गतेसम्म टोली खटाएर नामावली संकलन गर्ने कार्यालयले जनाएको छ । नेपाली नागरिकता प्राप्त गरेका ब्यक्ति, बसाइसराइ गरि आएका र मतदाता नामावलीमा नाम छुटेकाहरुलाई लक्षित गरि नामावली संकलन सुरु गरिएको हो ।जिल्ला प्रशासन कार्यलय चितवन र जिल्ला निर्वाचन कार्यालय चितवनमा भने नियमित रुपमा मतदाता नामावली संकलन भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया