×

नवलपुर  । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको प्रचार प्रसारका लागि चितवनमा बृहत् मोटरसाइकल र्‍याली गरिएको छ ।युवा सङ्घ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइलक सहभागी भएका आयोजकले जनाएको छ ।

जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवाहरु एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर ¥यालीमा सहभागी भएका हुन् । आज दिउँसो १ बजे नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको छ ।

एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको ¥याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो । युवा सङ्घ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताउनुभयो ।

भरतपुरसँग जिल्लाका अन्य पालिकाहरुमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको केसीको भनाइ छ । यता युवा सङ्घ गैँडकोट र जिल्ला संघको समन्वयमा गैँडाकोट ९ थुम्सीबाट सुरु भएको गैँडाकोटको र्याली गैँडाकोटका वडा नम्बर ४, ५, ६, ७ लगायत गैँडाकोट परिक्रमा गरेको एमाले नगर उपाध्यक्ष नवराज कंडेलले जानकारी दिनुभयो । करिब ५ सय मोटरसाईकल र्यालीमा सहभागी भएको उहाँले बताउनुभयो । र्याली महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनार पुगेको थियो ।

तपाईको प्रतिक्रिया