×

सुस्मा न्याैपाने 

नवलपुर ।राष्ट्रिय जनगणना आजदेखि सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ नाराका साथ आजदेखि १२ औँ राष्ट्रिय जनगणना सुरु भएको हो ।आज बिहान राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको निवासमा पुगेर तथ्याङ्क लिइएकाे छ ।आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

यसका लागि नवलपुरमा ४ सय ८५ गणक खटिएकाे तथ्याङ्क कार्यालय नवलपुरका प्रमुख जितेन्द्र रानाभाटले जानकारी दिए ।  उनीहरूलाई मूल गणनाका लागि आवश्यक तालिम प्रदान गरेर सामाग्री सहित फिल्डमा खटाइएको रानाभाटले जानकारी दिए ।  स्थानीय जनगणना कार्यालयहरूले आफ्नो कार्यक्षेत्र भित्र खटिने गणकहरूको अनुगमन सुपरिवेक्षण गर्ने, जनगणनाको अन्तिम दिन मङ्सिर ९ गते घुमन्ते फिरन्ते, जोगी, महन्त तथा घर ठेगाना नभएका व्यक्तिको गणना गरिने छ ।

साथै केन्द्रीय तथ्याङ्क विभाग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहकार्यमा १५ देखि ४९ वर्षका विवाहित महिलाहरूको मृत्यु भएमा मातृ मृत्यु सूचित फारम गणकहरूले भर्नुपर्ने छ । गैँडाकाेट नगरपालिकामा ९७ जना गणकहरु खटिएका छन् । स्थानीय जनगणना अधिकारी देवेन्द्र गाैतमले नगरका १८ वडाहरुमा ९७ जना गणकहरु खटिएकाे जानकारी दिए । उनका अनुसार सबैभन्दा बढि वडा न‌ं २ मा १३ जना गणकहरु फिल्डमा खटिएका छन् । नगरप्रमुख छत्रराज पाैडेलकाे निवासमा पुगेर तथ्याङ्क संकलन गरि औपचारिक रुपमा जनगणनाकाे थालनी गरिएकाे हाे । सबै गणकहरुलाई यसअघि तालिम प्रदान गरि फिल्डमा पठाईएकाे हाे ।

प्रथम चरण अन्तरगत सुपरिवेक्षकले गरेका सूचीकरण घर तथा घरपरिवारको फारम तथा नक्साका आधारमा गणकहरूको कार्य विभाजन तोकिएको उनले जानकारी दिए । यसअघि नवलपुरमा भदौ ३० देखि असोज २० गतेसम्म पहिलो चरणको घर तथा घरपरिवारको सूचीकरण गर्ने काम भैसकेको छ ।

तपाईको प्रतिक्रिया