×

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिँदैछन्।आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिने प्रस्ताव पेश गर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश सांसद लक्ष्मण लम्सालले जानकारी दिए।प्रस्ताव पेश भएसँगै मतदान पनि आजै हुनसक्ने उनले बताए।सोमबार ३ बजे संसद बैठक छ। त्यहीँ बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश हुन्छ। सायद आजनै विश्वासको मतमाथि मतदान हुन्छ होला,’ उनले भने।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अबस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभाका सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था रहेको छ।यसरी नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिन लागेका हुन्।

यसअघि बहुमत प्राप्त दलको हैसियतमा नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि पाण्डे कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।एमाले विभाजित भएसँगै अल्पमतमा परेकी शाक्यले कात्तिक १० विश्वासको मतको प्रस्तावका लागि हुने मतदानमा प्रक्रियामा सहभागी नभइ राजीनामा दिएकी थिइन्।

तपाईको प्रतिक्रिया