चितवन । चितवनको बसेनी सबस्टेशन चार्ज भएपछि भरतपुर क्षेत्रमा ३६ घण्टापछि बत्ती बलेको छ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले गएराति १ बजेदेखि भरतपुरको औद्योगिक क्षेत्र बाहेकमा विद्युत बल्न थालेको जानकारी दिए ।
एउटा ट्रान्सफरमर आज पोखराबाट ल्याइएको र त्यो जोडेपछि आज वा भोलिभित्र सबैतिर बिजुली बल्ने घिसिङले बताए ।सबस्टेशनबाट बिजुली सुचारु गराउन टाँडी, चनौली लगायत सबस्टेशनबाट ट्रान्सफरमर ल्याएर जडान गरिएको छ । काम छिटो सकाउन कुलमान चितवनमै गएका थिए ।
चितवनको भरतपुर क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या परेपछि मंगलबार दिउँसोदेखि नै सबस्टेसन बनाउन थालिएको थियो । जसका कारण भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द हुँदा तिहारको समयमा उपभोक्ता मर्कामा परेका थिए ।
काममा ढिलासुस्ती भएपछि कुलमान चितवन पुगेर कामलाई तीव्रता दिन निर्देशन दिएका थिए । काममा ढिलाइ हुन नदिन गएरातिसम्मै उनी फिल्डमा खटिएका थिए ।