×

काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको छ।आज मध्यान्ह १२:३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ।नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्य अल्पमतमा छन्। उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर छ।प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी गठबन्धनबाटै नयाँ मुख्यमन्त्री बनाउने पक्षमा छन्।

विपक्षी गठबन्धनबाट भावी मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईलाई अगाडि सार्ने निर्णय भइसकेको छ। आइतबार विपक्षी गठबन्धनका नेताहरूबीच बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेका थिए।

नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले नयाँ मुख्यमन्त्रीमा राईलाई समर्थन गरिएको जानकारी दिए।विपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई आग्रहसमेत गरेका छन्।प्रदेश १ को प्रदेश सभामा ९२ सांसद छन्। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत जुटाउन ४६ जना प्रदेश सभा सांसद चाहिन्छ।तर नेकपा एमालेसँग सभामुखसहित ४१ सांसद छन्।

 

तपाईको प्रतिक्रिया