×

गैँडाकोट । नयाँ नेतृत्व चयनका लागि विहिवारदेखि सुरु भएको नेकपा एमाले गैँडाकोट नगर कमिटी प्रथम अधिवेशनको निर्वाचन प्रकृया शनिवार दिउसोदेखि सुरु हुने भएको छ ।शनिवार दिउसो १ वजेदेखि निर्वाचन प्रकृया सुरु हुने निर्वाचन मण्डलका संयोजक रामु अर्यालले उज्यालो खबरलाई जानकारी दिए । उमेदवारी दर्ता, उमेदवारहरुको नामावली प्रकाशन, दावी विरोध लगायतका निर्वाचनको क्रममा गरिने सबै कामहरु भोलि दिउसो १ वजेपछि प्रारम्भ गरिने अर्यालले बताए ।

सहमतिको प्रयासका लागि भन्दै भोलि दिउसो १ वजेसम्मका समययावधि थप गरिएको हो । भोलि दिउसोसम्म पनि नेतृत्वका आकांक्षीहरुका विचमा सहमति जुट्न नसके मतदान मार्फत नेतृत्वको टुंगो लगाउने मनस्थितिमा निर्वाचन मण्डल पुगेको छ । नेताहरुले सहमति गर्नका लागि दवाव दिएपनि एउटै पदका लागि धेरैजनाको उमेदवारी परेपछि सहमतिको सम्भावना न्यून बन्दै गएको छ ।

७५ सदस्यीय नगर कमिटी मध्ये हालसम्म विभिन्न वडाका गरि ६४ जना नगरसदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । अव ६ जना नगर सदस्य र ५ जना पदाधिकारीहरुको टुंगो लगाउनुपर्ने छ । ६ जना सदस्यहरुका विचमा सहमति भएर मतदान नभएपनि ५ जना पदाधिकारीहरुको छिनोफानो गर्न बाकस नै थाप्नुपर्ने देखिएको छ । नगरका १८ वडाहरुबाट ४१५ भन्दा बढि प्रतिनिधिहरु नगर अधिवेशनमा मतदाताका रुपमा सहभागि छन् ।

अध्यक्ष पदमा हालसम्म ६ जनाले उमेदवारी दिने भन्दै निर्वाचन मण्डललाई चिट थमाएका छन् । हालका नगर अध्यक्ष षडानन्द लामिछाने, युवा नेता गिरीराज उपाध्याय, रामचन्द्र धिताल, राजुु सापकोटा र यदुनाथ सिग्देलले अध्यक्षको चाहना राखेका हुन् । हिजो अध्यक्षमा उमेदवारी दिने भन्दै चिट थमाएका भगवान घिमिरेले टेलिफोन गरि आफु अध्यक्ष नरहने बताएका छन् ।पाँच जनाले अध्यक्षमा उमेदवारी दिने बताएपनि भोलिको मनोनयनमा हालका निर्वतमान अध्यक्ष षडानन्द लामिछाने र नेता गिरीराज उपाध्याय विच नै प्रतिष्पर्धा हुने देखिएको छ । निर्वतमान अध्यक्ष लामिछाने नेकपा एमालेका तत्कालिन नेता माधव कुमार नेपाल विचार समूहसँग नजिक रहेका थिए भने अध्यक्षका प्रत्यासी उपाध्याय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

नगर कमिटीको उपाध्यक्षमा ९ जनाले चाहना राखेका छन् । नेकपा एमालेका युवा नेता एवंम् गैँडाकोट नगरपालिका वडा नं. ५ वडा अध्यक्ष नवराज कंडेल, वडा नं.१० का अध्यक्ष देवीदत्त कंडेल , ११ का वडा अध्यक्ष गोविन्द प्रसाद सुवेदी, युवासंघका नेता होम बहादुर गुरुङले उमेदवारी दिने बताएका छन् । त्यसैगरी रेखा पौडेल, राधा पाण्डे, ओम देवकोटा र दिपक सिंखडाले उपाध्यक्ष हुने चाहना राखेका छन् । अन्तिम समयमा आएर उपाध्यक्षमा पनि मुख्यतः २जना विच नै प्रतिष्पर्धा हुने एमालेका कार्यकताहरु बताउछन् ।

नगर सचिव पदमा हालसम्म तीनजनाले उमेदवारी दिने बताएका छन् । अनेरास्ववीयूका नेता कमल तिवारी, निर्वतमान नगर सचिव जगन्नाथ पौडेल र लक्ष्मण कंडेलले उमेदवारी दिने बताएका छन् । हालसम्मको अवस्था हेर्दा भोटिङ भएको खण्डमा तिवारी र पौडेल विच प्रतिष्पर्धा हुने देखिएको छ ।
त्यसैगरी नगरको २ उपसचिव पदका लागि ९ जनाले चाहना राखेका छन् । नेत्रराज सापकोटा,प्रेम प्रसाद कंडेल,श्रीराम सुवेदी,नर बहादुर थापा,कोकीसरा राना मगर,चुडामणी अधिकारी,विमल शर्मा,हरी वराली,ख्याम नारायण लम्साल र ललित गुरुङले उपसचिवमा आउने ईच्छा राखेका छन् ।

चुनाव हुने अवस्था किन आयो ?

एकताको प्रथम अधिवेशन भनिएपनि नेकपा एमालेभित्र अहिलेपनि २ गुट प्रष्ट छ । पार्टि अध्यक्ष केपी शर्मा ओली र पार्टिका पूर्व नेता माधव कुुमार नेपाल विचार समुुहले अहिलेपनि एमाले विभिक्त छ । माधव नेपाल पार्टि विभाजन गरेर अर्को पार्टि खोलेपनि तत्कालिन अवस्थामा माधव नेपाल समूहसँग लागेर ओलीको विचार समूहलाई प्रतिगमन भनेपछि अहिलेपनि माधव नेपालको विचार सँग नजिक भएकाहरुलाई ओली समूहले हेर्ने नजर फरक छ ।

एमाले गैँडाकोट नगर कमिटिमा घुुमाईफिराई पदाधिकारी सबैमा ओली र तत्कालिन नेपाल गूट विचनै लडाई देखिएको छ । अध्यक्ष र सचिव पदमा उमेदवारी दिएका लामिछाने र पौडेलले पार्टिको नेतृत्व लगातार ८ वर्ष गरेकोले पुस्ता हस्तान्तरण गर्नुपर्ने कुरा युवासंघका जिल्ला र नगरका नेताहरुले राखेका छन् । तर नेकपा एमाले विचमा पार्टि एकिकरणको क्रममा एकवर्ष रुमलिएको र काम नभएको भन्दै अव चुनावको पनि मिति नजिक आएकोले पार्टिलाई थप बलियो बनाउन अव एक कार्यकाल आफुले नेतृत्व गर्न पाउनुपर्ने तर्क लामिछाने र पौडेलको छ ।

प्रथम नगरअधिवेशन मार्फत नयाँ नेतृत्व ल्याउनु पर्ने बाध्यता एमाले माझ छ । आफुले किन दोष लिने भन्दै जिल्ला र नगरका नेताहरु सहमतिको लागि उमेदवारका आकांक्षीहरुलाई खुलेरै त्याग गर भन्ने अवस्थामा देखिएका छैनन् । सहमति कायम गर्दै सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व स्थापना गर्न नगर अधिवेशन सफल हुन्छ या हुँदैन हेर्न बाँकि छ ।

तपाईको प्रतिक्रिया