चितवन । मापदण्ड नपुगी सञ्चालनमा रहेका भरतपुरका छ वटा स्वास्थ्य सस्थालाई जिल्ला प्रशासन कार्यालय चितवनले दण्ड जारीवाना लगाएको छ ।मेडिकल सिटीका रुपमा परिचत भरतपुरमा सञ्चालनमा रहेका ती स्वास्थ्य सस्थाले सामान्य मापदण्ड र राज्यको कानुन पालना नगरेको भन्दै प्रति स्वास्थ्य सस्था तीन २० हजारदेखि तीन लाख रुपियाँसम्म जरिवाना लगाएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिनु भयो ।
आइतबार अनुगमन गर्दा कमजोरी देखिएका सस्थालाई सोमबार कार्वाही गरी जरिवाना लगाइएको हो । कार्वाहीमा पर्नेहरुमा अस्पताल रोडमा रहेको नबल पोलिक्लिनिक, भरतपुर पोलिक्लिनिकल, नवल डेण्डटललाई जनही ३ लाख रुपियाँ जरिवाना लगाइएको छ । ती स्वास्थ्य सस्थाले बिना दर्ता, सञ्चालन गरेको, मापदण्ड पुरा नगरी सेवा सञ्चालन गरेको, दुर्गन्धित भेटिएको थियो ।त्यस्तै गरी एपोलो डेण्टल क्लिनिकललाई ५ हजार, मिराकल फार्मेसीलाई दुइलाख ५० हजार रुपियाँ, रिजन फार्मेसीलाई २० हजार रुपियाँ जरिवाना लगाइएको छ ।

अनुगमनका क्रममा मानव स्वास्थ्यमा गम्भीर असर पार्ने औषधि बिक्री गरेर सेवाग्राहीको स्वास्थ्यसँग खेलवाड गरेको पाइएको शर्माले बताउनु भयो । भरतपुर अस्पताल रोडका पोलिक्लिनिक तथा फार्मेसीहरुले मापदण्ड पुरा नगरेको र फार्मेसीहरुले म्याद गुज्रिएका औषधिहरु पनि बिक्रीका लागि राखेको भेटिएको थियो । शर्माले भन्नु भयो ‘बिरामीको उपचार गर्नुपर्ने दायित्व रहेको पोलिक्लिनिकहरु दर्ता नै नगरी सञ्चालन भएको, कतिपय पोलिक्लिनिक दर्ता भएपनि बिना अनुमति दाँतको उपचार गरेको, आर्थिक कारोबार प्रकृयासम्मत नभएको, भौतिक पूर्वाधार उपयुक्त नभएको र असाध्यै दुर्गन्धित भेटिएको थियो,’ शर्माले भन्नु भयो, ‘यस्ता स्वास्थ्य संस्थालाई शिल गरेर जरिवाना गरेका छौ ।’

कार्वाहीमा परेका फार्मेसीहरुले तोकिएको अधिकतम मूल्य भन्दा बढीमा औषधि विक्री भइरहेको, मिति गुज्रिएका औषधिको व्यवस्थापन नगरेको र लागू औषधका रुपमासमेत प्रयोग गरिने औषधि डाक्टरको प्रेस्किप्सन बिना बिक्री गरिरहेको भेटिएको थियो । ‘यस्तो कार्यले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर गर्ने भएकाले सञ्चालकहरुलाई कारबाही गरेको हौ,’ उहाले भन्नु भयो, ‘केही फार्मेसीबाट मिति गुज्रिएका औषधिहरु जफत गरेका छौं।’ सोमबार आवश्यक कागजपत्र र सफाइ दिन वोलाएकोमा उहाहरुले कुनै प्रमाण देखाउन नसकेकाले कार्वाही गरेका हौ शर्माले भन्नु भयो ।

तपाईको प्रतिक्रिया