काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले आज शुक्रवार देखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका रू। २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपीओमा सर्वसाधारणले असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीलाई केयर रेटिङ नेपालले केयरएनपि डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

तपाईको प्रतिक्रिया