चितवन–चितवनका थारु महिलाहरुले आज धुमधामका साथ जितिया पर्व मनाउँदै छन् ।थारु समुदायको बाक्लो बसोबास रहेको चितवनको पूर्वी क्षेत्र रत्ननगर, कालिका, खैरहनी, राप्ती नगरपालिका, पश्चिम क्षेत्र मेघौली र माडीमा जितिया पर्व धुमधामका साथ मनाउन लागिएको हो । विहान भाले नबास्दै दर खाएका थारु महिलाहरु आज विहानैदेखि निराहर ब्रत बसी झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । विहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहर ब्रत बसी महिला तथा युवतीहरु यो पर्व मनाइरहेका छन् ।

तीन दिनसम्म विभिन्न धार्मिक कार्य गरी यो पर्व मनाइने थारु महिला अगुवा चन्द्रकुमारी चौधरी बताउँछिन् । यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिन मनाइन्छ । आज जितियाको दोस्रो दिन अर्थात मूख्य दिन हो । सप्तमीको दिनलाई ‘लाहा खाएके’, अष्टमीको दिनलाई ‘उपास’ र नवमीको दिनलाई ‘पारन’ भनिन्छ ।

आज अष्टमीको दिन भएकाले महिलाहरू विहानैदेखि ‘उपास’ ब्रत बसि झम्टा नाँच नाचेर मनाइरहेका छन् । महिलाहरू नयाँ सांस्कृतिक भेषभूषा लगाई दिनभरि नै झमटा नृत्यमा झुमेर रम्छन् । बेलुकीपख ब्रतालुहरु फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउँछन् ।

त्यसपछि सबै ब्रतालु महिला जम्मा भएर कथा श्रवण गर्ने प्रचलन छ । रुखको चारैतिर ब्रतालु महिलाहरू फलफूल, पानी, दूध, दही साथै बिहान भिजाएको मास र चामल लिएर बस्छन् । गाउँको कुनै एक भद्र पुरुषले जीतबाहनको कथा ९जितिया ब्रत कथा० घण्टौं लगाएर सुनाउँछ । कथा सकिएपछि सबै जना घर गएर फलाहार गर्छन् । त्यसलाई ‘फराहर’ भनिन्छ ।

खोलाबाट घर आइसके पछि ब्रतालुहरुले दहि चिउरा, केरा लगायतका खानेकुरा खान बस्छन् तर खानु भन्दा अगाडि गुइठाको अङ्गारमा काठको धूप बालेर सबै खानकीको केही अंश चढाएर मात्र खान्छन् । त्यसलाई ‘पारन’ भनिन्छ । त्यसपछि भने ब्रत सकिएसंगै जितिया पर्व सकिन्छ ।

जितिया पर्वको आफ्नै धार्मिक तथा साँस्कृतिक महत्व रहेको छ । जितियामा ब्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा हुने विश्वास रहेको छ । तराईमा बसोबास गर्ने थारु जातिका महिलासँगै मधेसी, मैथिली जातिले पनि जितिया पर्व मनाउने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया