काठमाडौं । सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो ।त्रिभुवन विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन । विमानले आकाशमा लामो समय फन्को मारिरह्यो । धेरैबेरपछि त्रिभुवन विमानस्थलमा फोर्स ल्याण्डिङ भयो ।

यात्रुहरुका अनुसार काठमाडौं आउँदासम्म खासै डर लागेको थिएन । तर यहाँ पनि ल्याण्ड हुन नसकेपछि भने डर लाग्न थाल्यो । जहाजभित्र रुवाबासी चल्यो ।
सुरक्षाकर्मी तयारी अवस्थामा देखेपछि अब जिन्दगी यति नै भयो भन्ने लागेको यात्रु प्रताप लिम्बुले सुनाए ।‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ उनी भन्छन्, ‘एयर होस्टेसहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’

अर्का यात्रु अनमोल प्रधानले जहाजभित्र रुवाबासी भएको र धेरैले आश मारेको सुनाए । रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए’ उनी भन्छन्, ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

एयर होस्टेसको आँखामा आँसु थियो
प्रताप लिम्बु

बिहान ८ः०५ बजे विराटनगरर्फ उडेका थियौं, तर अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो ।

त्यहाँ क्याप्टेन साहेबले अवतरण गराउन ६र७ पटक नै प्रयास गर्नुभयो, त्यसपछि काठमाडौं फिर्ता गर्नुभयो । काठमाडौं आउन्जेल त मलाई केही जस्तो लागेको थिएन, ढुक्क नै थिएँ । राम्रै हुन्छ होला भन्ने भयो, काठमाडौं आएपछि पनि ८/९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।

त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति नै रहने भयो, अब दुर्घटना हुन्छ भन्ने नै भयो । हाम्रो पाइलट एजी शेर्पा निकै अनुभवी हुनुहुन्थ्यो । जहाजमा केही जानकारी पनि दिइएन, हामीले ढोका खोल्दिनुस, हामी हाम फाल्छौं पनि भन्यौं ।

एयर होस्टेसहरुले केही हुँदैन भनेर ढाडस दिइरहनुभयो । हामी तपाईंहरुलाई बचाउन सक्दो कोशिस गर्छौं भन्नुभयो । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।

त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्नुभयो । नभन्दै सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । जति दह्रो मन भएपनि यस्तो हुन्छ । एयर होस्टेसको आँखामा आँसु थियो । तर, उहाँहरु हामीलाई केही हुँदैन भनेर सम्झाउँदै हुनुहुन्थ्यो ।

आश मारिसकेका थियौं
अनमोल प्रधान, यात्रु

जहाजभित्र रुवाबासी हुन थाल्यो । जति कन्ट्रोल गरे पनि त्यो रुवाबासीले गर्दा आँशु रोक्न सकिएन । हामीले आस मारिसकेका थियौं ।

आकाशमा घुमिरहेको विमानबाट रनवेमा हेर्दा एम्बुलेन्स, पुलिस सबै तैनाथ थिए । हामीलाई त भगवानले मात्रै बचाएको जस्तो लाग्छ । भगवान पशुपतिनाथको कृपाले बाँच्यौं । सबैजना भित्र हात जोडेर बसिरहेका थियौं । अनलाईन खबरबाट

तपाईको प्रतिक्रिया