चितवन  । पूर्व गृहमन्त्री तथा एमाले पोलिटब्यूरो सदस्य रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा प्रचण्ड भर्सेस बादल हुन सक्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टीले निर्णय गरेमा प्रचण्ड र आफ्नो बीच चुनावी प्रतिस्पर्धा हुन सक्ने बताउनु भएको हो । उहाँले भन्नुभयो “यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।”

फरक प्रसंगमा उहाँले वर्तमान सरकार कालोधन संरक्षणमा लागेको बताउनुभयो । उहाँले सरकारले कालोधन, दलाल र पूँजीवादलाई सृदृढ गर्न खोजेको बताउनुभयो । उहाँले राष्ट्रिय अर्थतन्त्र र पूँजीको संरक्षण गर्ने भन्दा पनि कालो धनलाई संरक्षण गर्ने काम वर्तमान सरकारले गरेको बताउँदै भन्नुभयो “यो लाईन भनेको पूँजीवादी लाईन हो, यसको नेतृत्व प्रचण्डले गरिरहनु भएको छ ।”

प्रचण्ड दक्षणपन्थी गैरराजनीतिक दिशातर्फ लागेको आरोप लगाउँदै थापाले भन्नुभयो “लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवाद विरुद्ध वर्तमान सरकार लागेको छ ।” पुष्पकमल दाहालले पार्टीको लाईन छोडेर गुटको नेतृत्व गरिरहेको बताउँदै उहाँले भन्नुभयो “पार्टीको लाइन भनेको राष्ट्रियता हो, समाजवाद हो, समृद्धि हो, लाईन मैले होइन, दाहालले छोड्नु भएको छ ।”

 

तपाईको प्रतिक्रिया