चितवन । चितवनका सातै पालिकामा आजदेखि ३५ वर्षमाथिका सबैलाई भेरोसिल खोप लगाईने भएको छ । जिल्लामा एक लाख १० हजार डोज भेरोसिल खोप आएसँगै यो अभियान सञ्चालन गरिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपकप्रसाद तिवारीका अनुसार पालिकाले तोकेका खोप केन्द्रबाट यो सेवा लिन सकिने छ । ३५ वर्षभन्दा माथिका सबैले यो खोप लगाउन पाउने उहाँको भनाई छ । यसैगरी १८ वर्षमाथिका विद्यार्थीलाई पनि यो खोप लगाईने उहाँले जानकारी दिनुभयो । जिल्लाका सात वटै पालिकाले खोप तालिका सार्वजनिक गरेका छन् । जस अनुसार अधिकांशले असोज ५ र ६ गतेलाई तोकेका छन् ।

उहाँका अनुसार जिल्लामा आएको एक लाख १० हजार खोपमध्ये ६५ हजार खोप दोस्रो मात्रा दिन बाँकी रहेकाहरुलाई दिइनेछ । दोस्रो मात्रा भने असोज १४ गतेदेखि शुरु हुनेछ । चितवनका सबै पालिकामा यसअघि लगाइएको खोप केन्द्रहरुमै खोप लगाइने व्यवस्था भएको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया