काठमाडौं । नेकपा एकीकृत समाजवादी, प्रदेश १ संसदीय दलले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नभएको जानकारी गराएको छ ।

नेकपा एमाले विभाजित हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए । निर्वाचन आयोगले कानूनी मान्यता दिएपछि उनीहरुले राजेन्द्रकुमार राईलाई दल नेता चयन गरे भने सरकारलाई आजकै मिति अर्थात २८ भदौबाट समर्थन नभएको जानकारी गराएको छ ।

प्रदेशसभा सचिव गोपाल पराजुली भन्छन्, ‘उहाँहरुको चिठीको प्रतिलिपी आजै मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराएका छौं । अब मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभा अधिवेशन बोलाउन सिफारिस गर्नुहोला ।’ अर्थात ३० दिनभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

र राष्ट्रिय राजनीतिमा उथलपुथल नभए मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने छैनन् । उनी अबको ३० दिन अर्थात २६ असोज ९वडादशैंको फूलपाती० अगाडि नै मुख्यमन्त्री पदबाट पदमुक्त हुनेछन् ।

यही अवस्था छ, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको । एमाले विभाजित हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका थिए । नयाँ दलले २७ भदौमा मुख्यमन्त्री शाक्यलाई समर्थन नभएको जानकारी गराएको प्रदेशसभा सचिव कृष्णहरि खड्काले बताए । अब उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल नभए प्रदेश १ का मुख्यमन्त्री आचार्यले जस्तै मुख्यमन्त्री शाक्यले पनि विश्वासको मत पाउने छैनन् ।

जसलाई छाड्दा मुख्यमन्त्री भए, उसकै कारण पद चट्

अष्टलक्ष्मी र भीम दुबै नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट निर्वाचित भएका थिए । त्यतिबेला शाक्य उपाध्यक्ष र आचार्य सचिव चुनिएका थिए । मुख्यमन्त्री बन्ने योजनाका साथ दुबै जना २०७४ को आम चुनावमा प्रदेशमा झरे । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेश १ र ३ दुबैमा एकल बहुमत ल्यायो ।

दुई दलबीच मुख्यमन्त्री भागवण्डा गर्दा प्रदेश १ र बाग्मतीसँगै गण्डकी र लुम्बिनीमा प्रदेश सरकारको नेतृत्व एमालकै भागमा पर्‍यो । पार्टी अध्यक्ष ओली पक्षको बाहुल्य रहेको गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशमा शंकर पोखरेल सर्वसम्मत रुपमा मुख्यमन्त्री बने । तर १ र बाग्मती प्रदेशमा दलको नेता चयनका लागि चुनाव भयो । शाक्य, डोरमणि पौडेल र आचार्य, शेरधन राईसँग पराजित भए । अर्थात माधवकुमार नेपाल समूहमा भएकै कारण उनीहरुले मुख्यमन्त्री बन्ने अवसर गुमाए ।

एमाले र माओवादीबीच ३ जेठ २०७५ मा एकता भयो, फेरि २३ फागुनको सर्वोच्च अदालतको एक फैसलापछि अलग पनि भए । एमाले पुनर्स्थापना भएपछि अध्यक्ष ओली एकपक्षीय रुपमा अघि बढे । उपाध्यक्ष शाक्य र सचिव आचार्य, नेपाल समूहले थालेको सामान्नातर गतिविधिमा सक्रिय रहे ।

तर जब माधव नेपालले नयाँ दल बनाउने निर्णय लिए, दुबैले साथ छाडेर एमालेमै बस्ने निर्णय लिए । शाक्य २ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री बनिन् भने आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री भए ।

निर्वाचन आयोगले माधव नेपालको नयाँ पार्टी एकीकृत समाजवादीलाई ९ भदौमा वैधानिकता दियो भने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २२ भदौसम्म समय तोक्यो । एकीकृत समाजवादीले आफ्नो दलमा आए शाक्य र आचार्य दुबैलाई मुख्यमन्त्रीमा निरन्तरता दिने बताएको थियो । तर उनीहरु एमालेमै बसे । अब माधव नेपाल नेतृत्वको दलकै कारण उनीहरुको मुख्यमन्त्री पद जाने भएको छ ।

यस्तो छ प्रदेशसभाको अंकगणित

प्रदेश १ मा ९३ सांसद छन् । विभाजनअघि एमालेको एकल बहुमत अर्थात ५१ प्रदेशसभा सदस्य थिए । १० जना सांसद एकीकृत समाजवादी रोजेसँगै एमालेले बहुमत गुमाएको छ र उसको सांसद संख्या ४१ मा झरेको छ ।

केन्द्र सरकारमा गठबन्धन गरेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिल्दा प्रदेश १ मा प्रष्ट बहुमत पुग्छ । बहुमतका लागि ४७ सांसद चाहिन्छ । कांग्रेससँग २१, माओवादीसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ सांसद छन् ।

प्रदेशसभामा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक–एक सांसद छन् ।

यस्तै १०९ सदस्यीय बागमती प्रदेशमा बहुमत जुटाउन ५५ सांसदको समर्थन चाहिन्छ । विभाजनअघि एमालेको टुप्लुक्क बहुमत अर्थात ५५ सांसद थिए । पार्टी विभाजनसँगै १३ सांसदले एकीकृत समाजवादी रोजेपछि बहुमत गुमेको छ । एमालेको सांसद ४२ मात्र कायम भएको छ ।

माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी मिल्दा प्रष्ट बहुमत हुन्छ । किनकी माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । विवेकशील साझाका तीन, नेपाल मजदुर किसान पार्टी र राप्रपाका दुई-दुई र एक स्वतन्त्र सांसद छन् ।

नयाँ मुख्यमन्त्री को –

प्रदेश १ र बागमती दुबैको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरेको छ । सत्तारुढ गठबन्धनका नेताहरुका अनुसार प्रदेश १ मा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने मोटामोटी सहमति भएको छ ।

त्यसो भएमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन् । एकीकृत समाजवादीकी सांसद सावित्राकुमारी रेग्मी भन्छिन्, ‘औपचारिक त केही भएको छैन । तर अनौपचारिक सहमति हामीले सरकारको नेतृत्व लिने भन्ने हो ।

कांग्रेस सांसद हिमाल कार्की पनि केन्द्रको निर्णय अनुसार नयाँ सरकार बन्ने बताउँछन् ।

‘एमालेपछि हामी ठूलो पार्टी हो । सरकारको नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो’ उनले भने, ‘तर, हामी केन्द्रले जे निर्णय गर्छ, त्यसअनुसार नयाँ सरकार बनाउँछौं ।’

उनका अनुसार नयाँ सरकार गठनबारे भोलि मंगलबारदेखि दलहरुबीच छलफल हुनेछ र, गठबन्धनका तर्फबाट मुख्यमन्त्री आचार्यलाई नैतिकताको आधारमा राजीनामा माग गर्ने सम्भावना छ । ‘राजीनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ’ उनले भने, ‘राजीनामा नदिए ३० दिन कुर्ने कि अविश्वास प्रस्ताव लैजाने भनेर गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्छौं ।’

बागमतीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री दाबी गरेका छन् ।

६ वटा प्रदेश सरकारमा तीन दलको २-२ भाग लाग्नुपर्ने उनको तर्क छ । हाल कांग्रेसले गण्डकी प्रदेशमा सरकारको नेतृत्व गरेको छ भने दशैंपछि कर्णालीमा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्व छाड्दैछ । त्यसो गर्दा सुदूरपश्चिम र लुम्बिनीमा माओवादीको नेतृत्वमा गठबन्धन सरकार कायमै रहनेछ ।

तर कांग्रेसले भने बागमतीको मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्र, संसदीय दलका नेता शालिकराम जम्कट्टेल भन्छन् ‘यसै गर्ने भन्ने टुंगोमा पुगिसकेका छैनौं ।’ यद्यपि मुख्यमन्त्री शाक्य विश्वासको मत लिन आए नदिने, नआए अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउन एकमत रहेको उनले बताए ।

अब एमाले सबैतिर प्रतिपक्ष

२०७४ को आम चुनावपछि केन्द्रसँग ६ वटा प्रदेशमा वाम गठबन्धनको बहुमत आयो । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्दा चार वटा प्रदेशको नेतृत्व पनि एमाले नेताले नै गरे ।

तर ५ पुस २०७७ को प्रतिनिधिसभा विघटनसँगै नेकपामा सुरु भएको कलहले दल नेकपा मात्र विभाजित भएन, एमाले पनि फुटेको छ र, एकपछि अर्को सरकारको नेतृत्वको सरकार ढलेको छ । जेठ अन्तिममा गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार ढल्यो । २८ असारमा संघीय सरकारका प्रधानमन्त्री ओली सर्वोच्च अदालतको परमादेशाबट पदच्युत हुन पुगे ।

त्यसपछि लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको एमाले सरकार ढाल्यो । अब दशैं अगाडि नै प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढल्ने लगभग निश्चित देखिन्छ । त्यसो भएमा एकसमय प्रदेश २ बाहेक सबैतिर सत्तामा रहेको एमाले सातवटै प्रदेशमा प्रतिपक्षी बेञ्चमा पुग्नेछ ।अनलाईन खबरबाट

तपाईको प्रतिक्रिया