नवलपुर । गैरकानुनी रूपमा लाभ लिएर हानीनोक्सानी पुर्‍याएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।अख्तियारले एस।आर।डी। कन्स्ट्रक्सन नवलपरासीका प्रोपाइटरहरू रमेश पराजुली र सन्दिप केसीविरूद्ध काठमाडौंस्थित विशेष अदालतमा आइतबार भ्रष्टाचारको मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।उनीहरूले ७५ लाख ८० हजार ६४९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप छ।

सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा आर्थिक वर्ष २०७५र०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा उनीहरूले मापदण्ड विपरीत उत्खनन गरेको भन्ने उजुरी परेको थियो।साथै उनीहरूले नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको उजुरी थियो।

सोही उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूले गैरकानुनी लाभ र हानिनोक्सानी गरेको खुलेको अख्तियारको दाबी छ।उनीहरूले नदीजन्य पदार्थ उत्खनन् तथा निकासीमा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६४९ रुपैयाँ उठाएर लाभ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।पुष्टि भएसँगै उनीहरूविरूद्ध अख्तियारले भ्रष्टाचारको मुद्दा अदालतमा बिगो रकम कायम गरी तीन महिनादेखि तीन वर्षसम्म कैद सजाय मागको मागदाबी गरिएको छ।

 

तपाईको प्रतिक्रिया