चितवन । एमसिसी सम्झौता सदनबाट पारित गराउने षडयन्त्र भइरहेको भन्दै अहिले आम नागरिकले नेता र नेतृत्वमाथि त्यो प्रकारको गलत काममा नफस्न खबरदारी गरिरहेका छन् ।नेपाली जनताको मनोभावना माथि कुठाराघात गर्ने मनसायका साथ खतरनाक एमसिसीजस्तो राष्ट्रघाती योजना अगाडि आएको भन्दै अहिले सडकमा हरेक दिन विरोध प्रदर्शनसमेत भइराखेको छ । गृहमन्त्रालयले विरोधमा उत्रनेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ । चितवनमा त झन एमसिसी खारेज अभियान संयुक्त संघर्ष समिति गठन गरेर हरेक गाउँ टोल स्थानीय तहदेखि बजार र चोकचोकमा विरोधका कार्यक्रम भइराखेका छन् ।
चितवनमा वामपन्थी नेता फडिन्द्र आचार्य र अजिव पौडेलले यसको मुल नेतृत्व गरिरहेका छन् भने विप्लव नेतृत्वको नेकपाले यहाँ लिड गरिरहेको छ । बाँकी धेरै राष्ट्रवादी संघसंस्था, नेता र नेतृत्वको साथ रहेको छ । आममानिसहरु एमसिसीको विरुद्ध खुलेर विरोधमा आएका छन् ।
विरोधका कार्यक्रम अन्तर्गत नै एमसिसी सम्झौता खारेजी अभियान संयुक्त संघर्ष समिति चितवनले जिल्लाका जन निर्वाचित सांसदहरुलाई धारणा सार्वजनिक गर्न माग गरेको छ । देशको राष्ट्रिय स्वाधिनता माथि नै प्रश्न चिन्ह उठाउने खतरनाक सम्झौताको विपक्षमा उभिइ देश र जनताको पक्षमा आफ्नो अभिमत २५ गतेसम्म सार्वजनिक गर्न २२ गते बसेको बैठकले पत्राचारसहित माग गरेको नेकपा चितवनका इन्चार्ज सन्देश पौडेलले बताए । सांसदको मेलमा पत्र पठाएको पौडेलले बताए ।
उनीहरुले संघीय सांसद तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, संघीय सांसद सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तीन दिने अल्टिमेटम दिएका हुन् । २५ गतेसम्म पनि उनीहरुले आफनो धारणा सार्वजनिक नगरे सांसदहरुका विरुद्ध कडा आन्दोलन गर्ने पनि पौडेलले बताए ।

तपाईको प्रतिक्रिया