चितवनका सात स्थानीय तहमध्ये तीन वटा स्थानीय तहमा एमालेका कुनै पनि जनप्रतिनिधिले माधव नेपालको पार्टी एकीकृत समाजवादीमा सनाखत गरेका छैनन् ।कालिका नगरपालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिकामा एकीकृत समाजवादी शून्य भएको हो ।

सूर्य चिन्हमा जनतासँग भोट मागेर जितेकाले अन्य पार्टी जादा जनमतको अपमान हुने जनप्रतिनिधिहरुले जनाएका छन् । खैरहनी नगरपालिकाका नगर प्रमुख लालमणि चौधरीले सूर्य चिन्हबाट जनताको भोट पाएर जितेका जनप्रतिनिधि अन्य पार्टीमा लाग्नु नैतिकरुपमा पनि ठिक नहुने  बताए । उनले भने, ‘ मैले सबै एमालेका जनप्रतिनिधिलाई यस विषयमा एकताबद्ध भएर बस्नुपर्छ । दायाँबायाँ गर्नु हुँदैन भनेर सम्झाएको पनि थिए । पछिको कुरा जेसुकै होस् तर अहिले हामी सबै एमालेमा नै रहने निर्णय गरेका छौं ।’

खैरहनी नगरपालिकामा नगरप्रमुख र उपप्रमुखसहित सात जना वडा अध्यक्ष नेकपा एमालेले जितेको हो । नगरकार्यपालिकामा ८ जना सदस्य एमालेका तर्फबाट निर्वाचित भएका छन् । त्यसैगरी इच्छाकामना गाउँपालिकामा तीन वडा अध्यक्ष एमालेले जितेको थियो । त्यहाँ पनि कुनै पनि एमालेका जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गर्न गएनन् । त्यसैगरी कालिका नगरपालिकामा पनि एमालेले ६ वटा वडा अध्यक्षमा जितेको थियो । कालिकाका पनि कुनै पनि जनप्रतिनिधि संघीय समाजवादीमा सनाखतको लागि गएनन् ।

चितवनमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल रोज्ने स्थानीय जनप्रतिनिधिहरुको संख्या ३६ पुगेको छ ।जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार चितवनका सात स्थानीय तहहरुमा भरतपुर, माडी, राप्ती र रत्ननगरका केही जनप्रतिनिधिले समाजवादी रोजेका छन् । जुन प्रतिशतको आधारमा धेरै न्यून हो । दल रोज्ने अन्तिम दिन आज साँझ पाँच बजेसम्म ११ जना वडा अध्यक्षसहित २५ जना वडा सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले  जानकारी दिए । उनका अनुसार पाँच जना जनप्रतिनिधिले सनाखत गरेर पनि सनाखत फिर्ता लिएका छन् । जसमा रत्ननगरका चार जना र भरतपुरका एक जना रहेका छन् ।

नेकपा एमाले त्यागेर एकीकृत समाजवादीमा सनाखत गर्ने प्रतिनिधिहरुमा भरतपुर महानगरपालिकामा पाँच वडा अध्यक्ष र वडा सदस्यहरु १० जना, रत्ननगर नगरपालिकामा चार वडा अध्यक्ष र सदस्यहरु गरेर १२ जना, राप्ती नगरपालिकामा एक वडा अध्यक्ष र एक जना सदस्यरहेका छन् भने माडी नगरपालिकामा एक वडा अध्यक्ष र दुई सदस्यले एकीकृत समाजवादी रोजेका छन् ।

तपाईको प्रतिक्रिया