विराटनगर।संखुवासभा हत्या प्रकरणको अनुसन्धानमा खटिएको प्रहरीले आफूहरू ‘सकारात्मक दिशामा उन्मुख भएको’ जानकारी दिएको छ।संघीय प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी उपरीक्षक भीम दाहाल नेतृत्वको टोलीले अनुसन्धान प्रगतितिर रहेको जनाएको हो।

‘हामी सकारात्मक दिशा उन्मुख भएका छौं’, एसपी दाहालले भने ‘अहिले शवको मुचुल्का तयार हुँदैछ। तथ्यहरूको अनुसन्धानबाट हामी पोजेटिभ वेमा छौं।’शव उठाउने क्रम सुरू भएको जानकारी दिँदै एसपी कार्कीले अनुसन्धान प्रगति उन्मुख रहेको दाबी गरे।

‘तर अहिलेसम्म कसैलाई पनि नियन्त्रणमा लिएका छैनौं’, उनले भने।अनुसन्धानमा दाबी गरिएको प्रगति प्रहरी हत्यारा नजिक पुग्न लागेको हो भन्ने प्रश्नमा दाहालले भने ‘अहिले नै त्यसो भन्ने अवस्थामा पुगेका छैनौं। जे जति प्रगति भएको छ, हामी उत्साही छौं। अहिलेसम्मको अनुसन्धान जिरोमा मात्रै रूमल्लिएको छैन।’

संखुवासभाको मादी नगरपालिका-१ स्थित तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या गरिएको अवस्थामा सोमबार बिहान शव फेला परेको थियो।५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।

तपाईको प्रतिक्रिया