चितवन  । चितवनको रत्ननगरमा निर्माण गरिएको घरेलु उपज विक्री केन्द्रको भवन आइतवार रत्ननगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । महिला उद्यमीहरुले उत्पादन गरेका घरेलु सामाग्री किनबेच गर्ने उद्देश्यले प्रदेश सरकारको लगानीमा घरेलु तथा साना उद्योग कार्यालय चितवनले विक्री केन्द्रको भवन निर्माण गरेको हो ।
रत्ननगर नगरपालिका वडा नं २ अन्तर्गत तरकारी मण्डी नजिक निर्माण गरिएको सो भवन एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
नगरपालिकाको निगरानीमा सञ्चालन तथा व्यवस्थापन समितिले सो केन्द्र सञ्चालन गर्नेछ । केन्द्र सञ्चालनको लागि डबल श्रेष्ठ अध्यक्ष रहेको समिति समेत बनाइएको छ । कार्यक्रममा रत्ननगरका मेयर नारायण वनले जिल्ला विकास समितिका सभापति कृष्णकुमार डल्लाकोटी र घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख यादबनाथ आचार्यको रोहवरमा सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठलाई विक्री केन्द्र हस्तान्तरण गरेका छन् ।
मेयर वनले समितिलाई हस्तान्तरण गरेसंगै विधिबत रुपमा केन्द्र सञ्चालनमा आएको छ । सो अबसरमा मेयर वनले स्थानीय स्तरमा उत्पादित कृषि बस्तुहरुको बजार सुनिश्चितता र उचित मुल्यको लागि विक्री केन्द्र कोसेढुंगा सावित हुने बताए । ग्रमिण क्षेत्रका किसानहरुलाई व्यवसायिक वनाउने र उनीहरुले उत्पादन गरेका बस्तुहरु केन्द्रमा ल्याएर विक्री गर्ने उद्देश्यले घरेलु उपज विक्री केन्द्र सञ्चालनमा ल्याइएको बताए ।
जिल्ला समन्वय समितिका सभापति डल्लाकोटीले महिलाहरुलाई उद्यमी बनाउन विक्री केन्द्रको भवन निर्माण गरिएको बताए । महिलाहरुलाई आत्मनिर्भर बनाउने,घरमा सामाग्री उत्पादन गर्न प्रोत्सहान गर्ने लक्ष्यका सात पूर्वी चितवनमै पहिलो विक्री केन्द्र सञ्चालनमा ल्याएको उनको भनाई छ ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर विमला दुवाडी,रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,जिल्ला समन्वय समितिका सल्लाहाकार समिति संयोजक दीपककुमार कर्माचार्य,चितवन उद्योग संघका अध्यक्ष राजु पौडेल,नगर स्तरीय दुग्ध उत्पादक संघका अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । प्रदेश सरकारको ३० लाखको लगानीमा एक तले भवन निर्माण गरिएको हो ।

तपाईको प्रतिक्रिया