काठमाडौं :  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनमा आफ्नो पक्षबाट सभापतिमा साझा उम्मेदवार तय गर्ने प्रतिबद्धता जनाएका हुन्।

कांग्रेसलाई राष्ट्र विकासको माध्यम बनाउन र लोकतन्त्रको पाठशालाका रूपमा स्थापित गर्न सहमति र ठाउँअनुसार उम्मेदवारी दिने उनले बताए। पार्टी बचाउन, लोकतन्त्र जोगाउन र मुलुकको अस्तित्व जोगाउन एकताबद्ध भएर जाने पनि उनले बताए। अहिलेको एकता १४ औं महाधिवेशनको अन्तिमसम्म कायम राखेर अघि बढ्ने उनको भनाइ छ।

नेता पौडेलले भने, ‘हामीले एउटा सामूहिकताको पाटोमा देशलाई र पार्टीलाई लैजान चाहेकाले उम्मेदवारी दिन पनि आ–आफैंले उम्मेदवारी दिनेभन्दा पनि सल्लाह गरेर, आपसमा सहमति गरेर, कसलाई कुन ठाउँमा राख्नुपर्ने हो, कसले के जिम्मेवारी लिँदा ठीक हुन्छ, कहाँ एकता कायम हुन्छ सबै हेरेर दिन्छौं।’

भोलि  देखि पार्टीको महाधिवेशनका लागि वडाबाट चुनाव सुरु हुने भएकाले आज आफूहरुले एउटा सन्देश दिएको उनको भनाइ थियो। सम्पूर्ण कार्यकर्तालाई एउटा राम्रो नेतृत्व दिने व्यक्तिलाई साथ दिएर अगाडि बढ्न पनि उनले आग्रह गरे।

‘हामी आपसमा एकताबद्ध भएर पार्टी बचाउनका लागि, लोकतन्त्र बचाउनका लागि र मुलुकको अस्तित्व जोगाउनका लागि एक भएर अगाडि बढ्छौं। हामी १४ औं महाधिवेशनको अन्तिमसम्म पनि हाम्रो एकता अटुट रहन्छ,’ उनले भने, ‘हाम्रो एकतामा कुनै किसिमको आँच आउने छैन, हामी सभापतिको एक जना उम्मेदवार सबै साथीको सल्लाहबाट दिन्छौं, सबै साथीहरूलाई ढुक्क हुन अनुरोध गर्छु।’

अभूतपूर्व रूपमा क्रियाशील सदस्यको विवाद भएको भन्दै यसले पार्टीका निष्ठावान व्यक्ति पीडित भएको बताए। पौडेल पक्षले कांग्रेसको वडा अधिवेशन सुरु हुनुभन्दा एक दिन अघिसम्म पनि सभापतिका आकांक्षीबीच सहमति हुन नसकेपछि महाधिवेशनमा साझा उम्मेदवारी दिने घोषणा गरेको हो।

पौडेल पक्षका सभापतिका आकांक्षीहरूमा पौडेलसहित महामन्त्री डा। शशांक कोइराला, नेताद्वय प्रकाशमान सिंह, डा। शेखर कोइरालालगायत नेता सहभागी थिए। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका युवा नेता गगन थापा पनि सहभागी थिए।

तपाईको प्रतिक्रिया