चितवन । नेपाली काँग्रेस चितवनका पूर्वपार्टी सभापति विकास कोइरालाको कारबाही फुकुवा गराउन दबाबस्वरूप नेपाल तरुणदल चितवनले ध्यानाकर्षण पत्र बुझाएको छ । तरुणदल चितवनले आज पार्टी जिल्ला सभापतिलाई आज ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै कारबाही फुकुवाका लागि दबाब दिएको हो ।
तरुणदल जिल्ला अध्यक्ष राजन ताम्राकारले कांग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनुभएको हो । बाहौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापति पदमा निर्वाचित कोइरालालाई केन्द्रीय नेतृत्वले अपमानजनक र अलोकतान्त्रिक शैलीबाट अपदस्त गर्ने तथा गैरराजनीतिक क्रियाकलापलाई राजनीतिक रङ दिएको भन्दै तरुणदलले ध्यानाकर्षण गराएको हो ।
विसं २०७० सालको संविधान सभा निर्वाचनमा साविक चितवन क्षेत्र नम्बर ४ मा पार्टी केन्द्रीय सभापति सुशील कोइरालाको उम्मेदवारी रहेको स्थानमा बागी उम्मेदवारी दिएको भन्दै त्यस घटनामा आधारित रही विसं २०७० कात्तिक २ गतेको निर्णयले केन्द्रीय समितिमा अनुशासनको कारबाहीका लागि पत्र पठाइएको थियो । उहाँसँगै कारबाहीमा परेका अन्यको फुकुवा भई निर्वाचनमा टिकटसमेत दिईनु तर कोइरालाको फुकुवा नहुनु दुःखद् रहेको तरुणदलले जनाएको छ ।
विसं २०७६ चैत १३ गते कांग्रेस चितवनको बैठकको निर्णयले कोइरालाको क्रियाशील सदस्यता नवीकरणका लागि सिफारिस गरेको भए पनि कुनै निर्णय नआउँदा आफूहरू गम्भीर भएको तरुणदलले जनाएको छ । कोइराला विसं २०६७ को १२ औँ महाधिवेशनबाट जिल्ला सभापतिमा निर्वाचित हुनुभएको थियो । निर्वाचित बनेसँगै विभिन्न कारणले जिल्लाको विशेष अधिवेशनबाट उहाँलाई सभापतिबाट हटाइएको थियो । ज्ञापनपत्र बुझाउँदै तरुणदलले कोइरालाको कारबाही फुकुवा भएर क्रियाशील सदस्या नआएसम्म जिल्लाको अधिवेशन गर्न नदिइने चेतावनी दिएको छ ।
दलको ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला सभापति श्रेष्ठले आफूहरूले केन्द्रमा कारबाही फुकुवाका लागि पत्राचार गरेको बताउनुभयो । विधानत कारबाही फुकुवा नहुँदा कांग्रेस चितवनसमेत अचम्मित भएको भन्दै उहाँले यसबारे जिल्ला समितिको बैठकमा छलफल गर्ने र पुनः आग्रह गरेको बताउनुभयो । समितिको आजको बैठकले पार्टीको वडा अधिवेशन यही भदौ २१ गते गर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।रासस