काठमाण्डौ –आज र भोलि पनि देशका धेरै ठाउँमा झरी पर्ने मौसमविद्ले बताएका छन् । दुई दिनयता सबैभन्दा धेरै नवलपरासी पूर्व र पश्चिममा पानी परेको छ । देशका विभिन्न १३ वटा वर्षा मापन केन्द्रमा ठूलो वर्षा भएको रेकर्ड भएको छ ।मौसमविद्का अनुसार नवलपरासी पूर्व र पश्चिम, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षामापन केन्द्रमा ठूलो वर्षा भएको मापन गरिएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अझै केही दिन पानी पर्ने सम्भावना छ ।

मनसुनको न्यूनचापीय रेखा तराईको भू–भाग नजिकै रहेकाले झरी रोकिने सम्भावना नभएको मौसमविद् मानन्धरले बताउनुभयो । तराई नजिकै मनसुनी न्यूनचापीय रेखा रहिरहेकाले मनसुनी गतिविधि सक्रिय नै रहेकाले अझै केही दिन पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।तराईको भू–भाग नजिकै रहेको न्यूनचापीय रेखा तल नझरेसम्म मौसम नखुल्ने मौसमविद्ले बताएका छन् ।

आज प्रदेश-१, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा आज दिउँसो ठूलो पानी पर्ने सम्भावना छ ।यस्तै, राति प्रदेश-१, वाग्मती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लगातार वर्षा भइरहेकाले तराईका जिल्लामा डुबानको जोखिम उच्च छ । यस्तै, बाढी पहिरोको खतरा पनि रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया