×

चितवन। लामो समय वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पद र प्रतिष्ठामा बसेर राम्रो आय आर्जन गरेका चिकित्सक कर्मचारीहरुले निजी स्तरबाट अस्पताल खोल्ने क्रम बढेको छ । सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी अघि बढाउने उद्देश्यका साथ त्यही कार्यरत चिकित्सकहरु समेटेर निजी अस्पताल स्थापना गर्न शुरु गरिएको हो ।

क्यान्सर अस्पतालमा रहँदा अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेका तत्कालिन कार्यकारी निर्देशक डा।भक्तमान श्रेष्ठको अगुवाईमा भरतपुरमा न्यूटन हस्पिटल खुल्दैछ । झण्डै पाँच अर्बको लगानीमा अस्पताल खुल्न लागेको हो । क्यान्सर अस्पतालभित्र कार्यरत चिकित्सक सहितको लगानीमा खुलेको यो अस्पतालको मुख्य उद्देश्य सरकारी क्यान्सर अस्पताललाई कमजोर बनाउने भएको विश्लेषकहरु बताउँछन् ।

त्यसो त डा।भक्तमानले क्यान्सर छाडेसँगै निजी एनपिआई नारायणी सामुदायिक हस्पिटलको नेतृत्व गरिरहनुभएको छ । त्यस अस्पतालमा क्यान्सरका बिरामीको उपचार हुने गर्दछ । श्रोतले भन्यो “डा।भक्तमान जसरी पनि क्यान्सर अस्पताल कमजोर बनाउन चाहन्छन् ।”

उहाँसँगै लामो समय क्यान्सर अस्पतालमा महत्वपूर्ण पदमा रहेर काम गर्नुभएका डा।अञ्जनीकुमार झा काठमाण्डौं क्यान्सर सेन्टरको नेतृत्व गरिरहनुभएको छ । हालै मात्र यहाँको क्यान्सर अस्पताल छोड्नु भएका उहाँले यहाँ रहँदैमा सो अस्पताल शुरु गर्नुभएको हो । झाले खोल्नुभएको सो अस्पतालमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा काम गर्ने चिकित्सकहरु समेत रहेको बताईन्छ । तर डा। झाले क्यान्सर अस्पतालका अन्य चिकित्सक कर्मचारीको लगानी नरहेको दावी गर्नुुभयो । उहाँले क्यान्सरको सम्पूर्ण उपचार हुने गरी अस्पताल खोलेको बताउनुुभयो । एक चिकित्सकले भने “जसरी हुन्छ, यो अस्पताल डुवाउनेमा पुराना ठुलाबडा डाक्टर लागिपरेका छन् ।”

भक्तपुर क्यान्सर अस्पतालमा अध्ययन प्रतिष्ठानको लविङमा झा लागेको आरोप समेत लाग्ने गरेको छ । यहाँको क्यान्सर अस्पताललाई कमजोर बनाएर निजी शसक्त बनाउने अभियानमा उहाँहरु लागि पर्नुभएको छ । त्यसो त हालका अध्यक्ष डा। निर्मल लामिछानेको नेतृत्वमा रु।१ अर्ब हाराहारी लगानीमा भरतपुरमै नेशनल सिटी अस्पताल सुविधासम्पन्न बनाईदै छ भने कार्यकारी निर्देशक डा। देजकुमार गौतम गैरकानुनी रुपमा चितवन अस्पतालमा कार्यरत हुनुहुन्छ । अस्पतालका अन्य चिकित्सकहरुले त्यहाँ आउने बिरामीलाई निजीमा पठाउने गरेको गुनासो आउने गरेको छ ।

नेकपा एमालेचितवनका अध्यक्ष पार्वती रावललले सरकारी अस्पतालमा काम गर्ने चिकित्सक कर्मचारीहरु नियमानुसार प्रतिबद्ध भएर सरकारी अस्पतालमै काम गर्नुपर्ने बताउनुुभयो । उहाँले सरकारी तलब सुविधा लिएर नियम विपरित अन्यत्र काम गर्न नहुने बताउँदै यस्ता गतिविधिको नियमन हुनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले वीपी कोईराला मेमोरियल क्यान्सर अस्पताल बलियो बनाउनु पर्ने बताउनुुभयो । केही दिन अघि अस्पतालमा आयोजित कार्यक्रममा यसै अस्पतालको तलब खाएर अस्पताल कमजोर बनाउने खेलमा केही व्यक्ति लागेको भन्दै कटाक्षे गर्नुुभएको थियो । कान्तिपुर हेल्थबाट

तपाईको प्रतिक्रिया